४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मध्यबर्खामा पनि खानेपानीको पिरलो

मध्यबर्खामा पनि खानेपानीको पिरलो
अ+ अ-

धादिङ । धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ ।

यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ । गाउँभरिमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ ।

स्थानीय शेरबहादुर तामाङले भन्नुभयो, “सबैले चाररचार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ ।” उहाँका अनुसार यहाँ अहिले पनि खानेपानी पुगेको छैन ।

जताततै पानीको छ्यालछ्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो । भौगोलिक हिसाबले सङ्घीय राजधानी काठमाडौँबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ । पानी, बत्ती र बाटो यी तिनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन् । शेरबहादुरले भन्नुभयो, “मध्य बर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौँ ।”

गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटा मात्रै धारा छ । “भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुङ्गो हुँदैन । धारामै पानी आए पनि धितमर्ने गरी पानी खान पाइदैन”, उहाँले भन्नुभयो, “खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन ।” मेसिनको सहायताले धारामा ल्याइएको पानी छ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी छ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

स्थानीय कविता तामाङका अनुुसार पोखरीडाँडामा पानी जम्मा गर्ने एउटा सानो ट्याङ्की छ । “गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ । दैनिक पाँच हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “पाँच हजार लिटर पानीले ६८ घरपरिवारले प्यास मेटाइरहेका छन् ।” एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात् ८० लिटरका दरले पानी भागमा पाउने उहाँले जानकारी दिनुभयो ।

माइक्रो हाइड्रो पावरको बत्ती प्रयोग गरेर पानी तानिएको भन्दै बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्न नसकने कविताले बताउनुभयो । गाउँमा बिजुली बिग्रिएको बेला एक दिन थापेको चार भाँडो पानीले दुई/तीन दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ । “त्यो पनि हावाहुरी चलेका बेला बिजुली बिग्रियो भने आकाशे पानी थापेर खानु सबैको बाध्यता हो”, उहाँले दु:ख सुनाउनुभयो ।

गाउँको धारोमा पानी भाग नपुगेको दिन आवतजावत पाँचदेखि छ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको कविताले बताउनुभयो । “खोलामा पानी लिन जान सबैभन्दा नजिक घर हुने पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ”, उहाँले भन्नुभयो, “पाखुरे, काउलेखोला, फुर्लुङडाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ ।”

पानीको दु:खले भोक, निन्द्रा केही नलाग्ने स्थानीय मैना तामाङको भनाइ थियो । खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयको दिन बित्ने गरेको उहाँले बताउनुभयो । खाना पकाउन आकाशे पानीको प्रयोग गर्ने गरिएको बताउँदै उहाँले खोलामा बाढी आएका बेला आकाशेपानी नै खाने गरेको बताउनुभयो । “लुगा धुन, नुहाउन खोलामा नै जान्छन्”, मैनाले भन्नुभयो, “पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याउँदैन ।”

घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानी पुर्‍याउन करोडौँको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको सधैँ कष्ट छ । “हिउँमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ”, मैनाले भन्नुभयो, “गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौँदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन् ।”

“देशमा कैयौँपटक सरकार परिवर्तन भए । कैयौँ मन्त्री फेरिए । ‘घरघरमा सिंहदरबारको’ नारासहित दोस्रो पटक स्थानीय सरकार बदलियो । सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्यूँ का त्युँ छ”, स्थानीय ६७ वर्षिया साइली तामाङले भन्नुभयो । हिउँदमा खोलामा पानी लिन जानेको लाम हुने गरेको उहाँको भनाइ थियो । पिँठ्युमा खानेपानीको ग्यालिन बोकेर तिर्खा मेटाउने गरिएको उहाँले बताउनुभयो ।

“गाउँको बीचमा दुई वटा आहाल बनाएर आकाशेपानी जमाउने गरिएको छ । वस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटामध्ये एउटा आहाल यो वर्ष सुख्खै छ”, साइलीले भन्नुभयो, “आहाल सुधार गर्न वरपर ढुङ्गाको वाल उठाउन थालेकाले आकाशेपानी पनि जमाउन सकिएको छैन ।”

‘एक घर एक धारा’ तीनै तहका सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौंदेखि खानेपानीको सास्ती व्यहोर्न बाध्य छन् । गत आर्थिक वर्षमा दुई वटा ट्याङ्की निर्माण गरी पानी ल्याउने योजना बनाइए पनि मुहानबाट ट्याङ्कीसम्म पानी पुर्‍याउन नसकिएको स्थानीय बताउँछन् ।

यस्तो छ योजना

‘फियान नेपाल’ नामक गैरसरकारी संस्थाको सहयोगमा बजेट माग्दै स्थानीय नगरपालिका गएपछि आर्थिक वर्ष २०७८/७९ मा खानेपानीका लागि रू ४० लाख बजेट विनियोजन भएको थियो । उक्त रकममा दुई वटा ट्याङ्की निर्माण गरिएको छ । एउटा गाउँको सिरानमा र अर्को गाउँको बीच भागमा छ ।

आर्थिक वर्ष २०८०/८१ मा रू ६१ लाखमा पलभिस कन्ट्रक्सनले दुई योजना निर्माणको जिम्मा पाएको थियो । गाउँको सिरानसम्म एउटै लिफ्टिङबाट सम्भव नभएपछि प्राविधिक सल्लाहअनुसार दुई वटा लिफ्टिङ गरेर पानी तान्ने योजना बनेको ठेकेदार कम्पनीका प्रमुख सुनिल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो लिफ्टमा बीचको ट्याङ्कीमा जम्मा गर्ने दोस्रो लिफ्टमा बीचको ट्याङ्कीबाट सिरानको ट्याङ्कीमा हालेर गाउँमा वितरण गर्ने योजना छ ।

यसै वर्ष खोलाको पानी ५० हजार लिटर सङ्कलन गरी ट्याङ्कीमार्फत गाउँसम्म पुर्‍याउने उद्देश्यले काम थालिएको प्रमुख शर्माले बताउनुभयो । असारमै काम सक्नुपर्ने भए पनि वर्षामा भौगोलिक विकटता, निर्माण सामग्रीको अभावलगायत कारणले काम रोकिएको उहाँको भनाइ थियो । पानी तान्ने पाइप गाउँसम्म पुर्‍याइएको भन्दै उहाँले अब छिट्टै पुन: काम थाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँमा नपुग्नु अर्को समस्या रहेको स्थानीय उर्मिला तामाङले बताउनुभयो । “बिजुली बत्तीका लागि गाउँमा खम्बा पनि गाड्न थालेको एक वर्ष भयो । अहिलेसम्म सबै ठाउँमा खम्बार र तार पुगेको छैन”, उहाँले भन्नुभयो, “सरकारी बिजुली आइदिएदेखि ठूलो मोटरले पानी तान्ने आश यो वर्ष पनि अधुरै बनेको छ ।”

गाउँमा खम्बा गाडिए पनि पानी तान्ने खोलासम्म खम्बा र तार पुर्‍याउन बाँकी नै रहेको उर्मिलाले बताउनुभयो । “बिजुली बत्तीको सुविधा आएदेखि पानीको पनि सुविस्था हुन्थ्यो कि भन्ने आशमा छौँ”, उहाँले भन्नुभयो । रासस