४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

रिखार क्षेत्रमा जनैपूर्णिमा मेला
अ+ अ-

गलेश्वर । धौलागिरि हिमालको फेद । चारैतिर हरियाली भूगोल । अनकन्टार ठाउँमा ताल । तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि खर्क र बुकीसहितको हिमाली दृश्य ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा धौलागिरि हिमालको फेदैमा अवस्थित सप्तऋषिको तपस्थली र ‘हिमालका देवता’को बासस्थान मानिएको प्रसिद्ध रिखार क्षेत्रको मनमोहक प्राकृतिक दृश्य हो यो ।

बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित सो क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा समेत महत्वपूर्ण रहेको छ । रिखार क्षेत्रको प्रचारप्रसारका लागि स्थानीयवासीले जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाइ र गोरेटोबाटो निर्माण गरेका छन् । रिखारमा आज जनैपूर्णिमाका दिन सप्तऋषिको विशेष पूजाआजा हुनुका साथै  मेलाको आयोजना गरिएको छ ।

स्कन्दपुराणका अनुसार द्वापरयुगमा देवीदेवता र ऋृषिमुनिले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र सांस्कृतिक विविधता, वन्यजन्तु तथा पक्षीका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना रहेको रघुगंगा गाउँपालिका– ८ का वडाअध्यक्ष गमान छन्त्यालले बताउनुभयो । रिखार क्षेत्रलाई हिमालका देवताको बासस्थान भनेर चिनिने गरिएको उहाँको भनाइ छ ।

रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौं पहिलेका शिल्पीको संरक्षणका लागि स्थानीय तहबाट भएको प्रयासलाई माथिल्लो निकायबाट सहयोग नभएको त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय रहँदै आउनुभएका स्थानीयवासी अङ्कित पुनले बताउनुभयो । उहाँका अनुसार संरक्षणको अभावमा मन्दिर जीर्ण बनेको छ भने छन्त्याल, मगरलगायत भाषाका शिल्पलिपि नष्ट हुने अवस्थामा छन् ।

सरोकारवालाको बेवास्ताका कारण त्यस क्षेत्रमा गरिएको अध्ययनको प्रतिवेदन अहिले अलपत्र परेको छ । रिखार क्षेत्रमा पुग्न उचित बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाको निर्माणतर्फ सबैको ध्यान पुगे त्यहाँको विकास हुने स्थानीय बासिन्दा देउमान घर्तीको भनाइ छ । तलाउको जलले स्नान गरी भगवानको पूजाअर्चना गर्नाले भगवानको लोक पाउने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तीर्थयात्री र पर्यटक बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् ।

कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमालीस्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिन्छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल रिखार क्षेत्र जति विकट छ त्योभन्दा सयौँ गुणा मनमोहक र चित्ताकर्षक रहेको नवीन आनन्द योग केन्द्रका योग गुरु नवीन जुग्जालीले बताउनुभयो ।

सप्तऋषीले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनैपूर्णिमाको दिन विशेष पूजाआजा हुने गर्दछ । बेनीबाट गलेश्वर, मोवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला, मङ्गले, घाँसीखर्क, चौरखानी, द्वारी, पात्लेखर्क, बयलीखर्क हुँदै हिमालको फेदमा अवस्थित रिखार क्षेत्रमा पुग्न सकिन्छ ।

धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा धेरै वर्णन गरिएको भए पनि यो क्षेत्र म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषिहरु डुङ्गामा चढी सुरक्षत स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको पं भीमनाथ पराजुलीले बताउनुभयो  ।

पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा, सप्तऋषि गुफा नामका गुफा रहेका छन् ।

डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पं भीमनाथ पराजुलीले जानकारी दिनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दूधर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिन्छ ।

जनैपूर्णिमा मेला तथा विशेष पूजा

सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनैपूर्णिमाको दिन (आज) विशेष पूजाआजासहित जनैपूर्णिमा मेला सुरु भएको छ । रघुगङ्गा–८ कुइँनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमाली स्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिन्छ ।

“वैदिक समाजका आरम्भकर्ता सप्तऋषीले तपस्या गरेको यस क्षेत्रमा परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन विशेष पूजा र मेलाको आयोजना गरिँदै आइएको छ”, रिखार युवा क्लबका संरक्षक अङ्कित पुनले भन्नुभयो ।

हरेक वर्ष जनैपूर्णिमामा यहाँ आउने भक्तजनले एकपटक पुग्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटक आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइमा अवस्थित रिखारमा पुग्ने धेरैले त्यहाँको भौगोलिक तथा मन्दिर आसपासका दृश्यलाई अवलोकन गरेपछि प्रकृतिको अनुपम उपहार पाएको धर्तीको स्वर्ग भनेर भन्ने गर्छन् । रासस