११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाबाट फर्केका दाजुभाइ भैँसीपालनमा



फाईल फोटो
अ+ अ-

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आउनुभएको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिकरुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य बताउनुहुन्छ । “कोरियामा रहँदा गाई फार्ममा काम गर्दाको सीप तथा अनुभव हामीसँग थियो”, उहाँले भन्नुभयो, “विदेशमा सिकेको सीपले आज आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा सहज भएको छ ।” उहाँले सुरुआतमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थाल्नुभएको थियो । हाल उहाँको फार्ममा माउ ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन् । हाल ५० भैँसीले दूध दिइरहेका छन् ।

“अहिले दैनिक तीन सय ५० देखि तीन सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ”, आचार्यले भन्नुभयो, “प्रतिलिटर दूध रु एक सय पाँच देखि रु एक सय १० सम्म स्थानीय बजारमा खपत हुने गरेको छ ।”

मासिक रु ११ लाख बराबरको दूध बिक्री हुने गरेको छ । भैँसीलाई दानापानी तथा कामदारको पारिश्रमिकमा रु सात लाख खर्च हुने गरेको छ । फार्ममा छ जनाले रोजगारी पाएका छन् । सुरुआतमा रु एक करोड लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म रु तीन करोड लगानी भइसकेको उहाँले बताउनुभयो ।

“सात रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक गोठ, भण्डारण कक्ष, कामदारका लागि आवास कक्ष, कार्यालय, भान्साकोठा, शौचालय र तारबार गरी संरचना निर्माण गरेका छौँ”, आचार्यले भन्नुभयो, “यसलाई अझै व्यवस्थित गर्नका लागि करिव रु डेढ करोड लगानी गर्ने तयारीमा छौँ ।”

अहिले दूधमात्रै उत्पादन र बिक्री हुँदै आएकामा यसलाई थप विस्तार गरी दूधजन्य अन्य परिकार पनि उत्पादन गर्ने तयारीमा आफूहरु रहेको अर्का सञ्चालक वीरेन्द्र आचार्यले बताउनुभयो । दूध मात्रै बिक्री गरेरभन्दा पनि अन्य दूधजन्य परिकार उत्पादन गर्न सके आम्दानी अझै बढ्ने भएकाले सोही तयारीमा रहेको उहाँ बताउनुहुन्छ ।

भैँसीपालनका लागि अत्यावश्यक घाँस एक सय रोपनी क्षेत्रफलमा रोपिएकाले पनि घाँसमा लगानी गर्नु नपरेको आचार्यले बताउनभयो । फार्मले ८० रोपनी जग्गा भाडामा लिएको छ । “फार्म सञ्चालन गरेका व्यवसायीलाई अनुदान होइन लगानीकर्तालाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराए थप लगानी गर्न प्रोत्साहन पुग्ने थियो”, उहाँले भन्नुभयो । युवा स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशी भूमिमा पलायन भइरहेका बेला राज्यले बेलैमा सोच्नुपर्ने बेला आएको आचार्यको भनाइ छ । रासस