• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला

तनहुँमा क्रिकेट खेल मैदानको खोजी गरिँदै



दमौली । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ ।

व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ । खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेलमैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा क्रिकेटका गतिविधि विस्तारै बढ्दै छ, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् । तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।” राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

नेपाल क्रिकेट सङ्घ केन्द्रीय समिति र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जिल्लामा मैदानको पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको दमौलीका कविराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “देशले पछिल्लो समय क्रिकेटमा ठूलो प्रगति गरेको छ, त्यसकै कारण पनि यहाँ खेलप्रति आकर्षण बढिरहेको छ ।”

तनहुँका क्रिकेट खेलाडी चन्द्रकान्त पौडेलले जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान नभएको र सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको गुनासो गर्नुभयो ।

दमौली पेलिकन्स क्लबले बेला–बेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेलमैदानकै अभावमा क्लबले व्यास–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ । “क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो ।

तनहुँ क्रिकेट सङ्घका पूर्वअध्यक्ष ताराराम श्रेष्ठले क्रिकेटतर्फ आकर्षण बढे पनि पूर्वाधार अभाव रहेको बताउनुभयो । रासस