• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो



डोलेश्वर मन्दिर।

काठमाडौँ । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ ।

सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न पाएका थिएनन् । पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रावणभरी व्रत गरेका वर्तालुले आज गोदान र पूर्णपात्र दान गरी उद्यापन गरिरहेका छन् ।

श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि र तीजको अवसरमा जस्तैगरी भक्तजनका लागि व्यवस्था गरिएको जनाएको छ । आज बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा आज बिहानैदेखि साउने सोमबारको व्रत गरेका विशेषगरी रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनको बढी भीड देखिएको थियो ।

दिउँसोपछि भने पशुपति क्षेत्रमा रहेका ब्राह्मण, पुरोहितसँग गोदान र पूर्णपात्र गराई व्रत उद्यापन गर्नेको भीड लागेको उहाँले बताउनुभयो । साउनको सोमबार व्रत गरी पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधनासहित दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिनामा शुद्ध जल ल्याई पशुपतिनाथमा बोलबम यात्रा गरेर जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र भारतीय राजदूतावसामार्फत् आउनुभएका भारतका उच्च सैनिक अधिकारीले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवम् दर्शन गर्नुभएको कोषले जनाएको छ ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । साउनको सोमबार व्रत बसी शिवालयमा जान नसक्ने भक्तजनले भने घरमै गोदान र पूर्णपात्रदान गरी व्रत उद्यापन गर्ने व्रत विधि रहेको छ । रासस