• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल



चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल ।

पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता बिस्तार र गुणस्तरीय सेवा सुविधामा विशेष ध्यान दिएको छ । जसको नतिजा अस्पतालको प्रदेशद्वारदेखि नै देख्न सकिन्छ । अस्पतालले निर्माण गरेको सुन्दर प्रवेशद्वार, पानीको फोहोरा र बगैँचाले अस्पतालको सुन्दरता बढाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालले शय्याको सङ्ख्या वृद्धि गर्ने, सेवा सुविधा बढाउने र सहज तथा सुलभ उपचार दिने उद्देश्य अनुरुप क्षमता तथा सेवा बिस्तारसँगै सौन्दर्यमा पनि विशेष ध्यान दिइएको जानकारी दिनुभयो ।

विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको अस्पतालमा तत्कालीन समयमा १२ शय्याको आकस्मिक कक्ष थियो । हाल त्यसलाई बढाएर ५० शय्याको अत्याधुनिक आकस्मिक कक्ष बनाइएको उहाँको भनाइ छ । साथै २० शय्याको सघन उपचार कक्षलाई बढाएर ३० शय्याको बनाइएको छ । हाल दुई ठाउँमा सघन उपचार कक्ष सञ्चालनमा छन् ।

त्यति मात्रै होइन, १२ शय्याको बाल सघन उपचार कक्षलाई २० शय्या बनाइएको छ भने हाल अस्पतालमा छ शय्याको पिआईसियु पनि सञ्चालनमा ल्याइएको छ । यस्तै पहिलो पटक चार शय्याको सिसियु र तीन शय्याको ‘बर्न बार्ड’ सञ्चालनमा ल्याइएको छ । यही भदौबाट मुटुरोग विभाग पनि सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ ।

प्रा डा पौडेलका अनुसार सेवा सुविधा बिस्तार गर्ने क्रममा यसैवर्ष क्याथल्याव सञ्चालन गरिनेछ भने अत्याधुनिक ट्रमा सेन्टर पनि निर्माणको प्रक्रियामा छ । अस्पतालले रोटरी क्लबसँगको सहकार्यमा अर्को वर्षको असारसम्म सुविधा सम्पन्न स्पाइनल इन्जुरी सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ । “प्रयोगशालालाई उच्चस्तरको आधुनिक बनाइएको छ भने १२ शय्याको डायलासिस बढाएर १७ शय्याको पुर्‍याइएको छ”, पौडेलले भन्नुभयो, “केही दिनमै यसलाई २० शय्या बनाइनेछ ।”

पौडेलका अनुसार अस्पताल प्रसूतिका लागि पनि परिचित छ । यहाँ विभिन्न जिल्लाबाट प्रसूतिका लागि ठूलो सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । सोही विषयलाई ध्यानमा राख्दै प्रसूति विभागमा शय्या र कक्ष आधुनिक बनाइएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा सुरक्षित बनाउन प्रवेशका लागि ‘डिजिटल कार्ड प्रणाली’को व्यवस्था गरिएको उहाँको भनाइ छ । अस्पतालमा दुई मोडुलरसहितका सात शल्यक्रिया कक्ष सञ्चालनमा छन् ।

अस्पताल परिसरमा निर्माण गरिएको बगैँचाले अस्पतालको सौन्दर्य बढाएको छ भने सेवाग्राहीलाई पनि सहज भएको उहाँको बुझाइ छ । अस्पतालमा हाल पाँच वटा फार्मेसी सञ्चालनमा छन् । अस्पतालले चालु आर्थिक वर्षभित्रै एमआरआई मेसिन ल्याउने योजना बनाएको डा पौडेलले जानकारी दिनुभयो ।

प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई अनलाइनबाट टिकट काट्ने व्यवस्था र कार्डबाटै भुक्तानीको व्यवस्था गरिएको छ । अस्पतालमा भदौ ३ गते एक दिनमा सबैभन्दा धेरै दुई हजार तीन सय ८० बिरामीले बहिरङग सेवा लिएका थिगए । अस्पतालमा बहिरङ्ग सेवा नि:शुल्क छ । अस्पतालमा रहेका छ सय शय्यामध्ये चार सय नि:शुल्क गरिएको छ ।

हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । पौडेलले दरबन्दी थप हुने हो भने अझ राम्रो सेवा दिन सकिने बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिएको र अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि उहाँ उपचार गराउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो । उहाँले सरकारी अस्पतालमध्ये पहिलो पटक यस अस्पतालमा साधारण बहिरङ सेवा (जिओपिडी) सेवा सुरु गरिएको बताउनुभयो । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ । रासस