काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले आफू एसिया कपको लागि उत्साहित रहेको बताएका छन् । सोमबार एसिया कपको लागि पाकिस्तान उडेका सन्दीपले प्लेनभित्रको तस्बिर सामाजिक सञ्जालमा हाल्दै यस्तो बताएका हुन् ।
‘अफ टु पाकिस्तान । यसअघि पनि पाकिस्तानमा हुँदाका धेरै राम्रा सम्झनाहरू छन् । एसिया कपको लागि साँच्चै उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्य सचिव श्री टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । सम्पुर्ण शुभचिन्तकहरुमा धेरै धेरै माया । जय नेपाल ।’, सन्दीपले लेखेका छन् ।
सन्दीप एसिया कप–२०२३ का लागि कतारको दोहा हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेका हुन् । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि उनको पाकिस्तान जाने बाटो खुलेको थियो ।
नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ ९क्यान०ले टोलीसँगै लगेको थिएन ।
सन्दीपलाई उनका सर्मथकहरुले विमानस्थल पुगेर भव्य विदाई गरेका थिए । पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’मा रहेको छ । जसमा दुई महारथी पूर्व विश्व च्याम्पियन भारत र पाकिस्तानसमेत छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग उद्घाटन खेल खेल्नेछ । यस्तै, १८ भदौमा भारतको सामना गर्नेछ ।