२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्योः प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ । जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उहाँले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताउनुभयो ।

नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको विशिष्ट योगदानकै कारण हालैको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको बताउनुभयो । “टुहुरेको गायकीले नागरिकको दुःख बोल्थ्यो, अन्याय विरूद्ध आवाज उठाउन प्ररित गथ्र्यो, महिलाहरूलाई आफ्नो मुक्तिका निम्ति सङ्घर्ष गर्न प्रेरित गथ्र्यो, त्यसैले उहाँ न्यायप्रेमी जनसमुदायका बीच अजर अमर गायकका रूपमा स्थापित हुनुभयो”, उहाँले भन्नुभयो ।

“टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनतामा विद्रोह चेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिङ्गो जीवन ऊर्जाले भरिएको छ ।”

टुहुरे नेपाली वाम आन्दोलनको एक बहुआयमिक व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन उहाँको मुख्य विधा भएको बताउनुभयो । “जतिबेला हामी राजनीतिक आन्दोलनमा सक्रिय भएर जनतालाई जागृत गर्न, सङ्गठित गर्न प्रयत्न गथ्र्यौँ, कोरा विचार प्रवाहबाट जनसमुदायलाई सङ्गठित गर्न निकै कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर, जब साहित्यकार एवं सङ्गीतकर्मीको प्रस्तुति हुन्थ्यो, जनतामा विशेष प्रकारको अनुराग र आकर्षण हुन्थ्यो ।”

कार्यक्रममा प्रधानमन्त्री दाहालले साहित्यक साधक अनिल पौडेललाई रु एक लाख राशीको पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले जनता तथा समाजको पक्षमा सिर्जना गर्न आफूलाई अझ प्रेरित गरेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले टुहुरेको स्मृति, जीवन र कार्यसमेत समाविष्ट गरी ‘जनबोलीका अविश्रान्त गायक जेबी टुहुरे’ स्मृतिग्रन्थ लोकर्पण गर्नुभएको थियो । पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उहाँसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वका साथै घनिष्ठ मित्र र नातेदारका विचार र भावना समेटिएको छ ।

विसं २००१ मा मोरङमा जन्मिनुभएका उहाँले सांगीतिक क्षेत्रमा प्रवेशसँगै आफूलाई जेबी टुहुरेका रूपमा स्थापित गराउनुभएको थियो । पञ्चायती व्यवस्था र राजतन्त्रकाविरूद्ध सांस्कृतिक एवं सांगीतिक आन्दोलनको नेतृत्व गर्नुभएका टुहुरेका सयौँ कृति सार्वजनिक छन् । तीमध्ये ‘आँधीखोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरू, ‘शहीदको रात’, ‘आमा दिदी बहिनी हो कति बस्छौं दासी बनेर’लगायत गीतले उहाँलाई राष्ट्रिय गायकमा स्थापित गरेको थियो । २०७८ साल भदौ १० गते टुहुरेको निधन भएको थियो ।

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । रासस