१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसले युक्रेन सङ्कटलाई नबढाउने– म्याक्रोन



अ+ अ-

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले एक दिनअघि भएको वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले युक्रेन सङ्कटलाई बढाउँदैन भन्नुभएको बताउनुभएको छ । 

मङ्गलबार किभको भ्रमणका क्रममा म्याक्रोनको यस्तो टिप्पणी आएको हो ।  क्रेमलिनले म्याक्रोन र पुटिनबीच सङ्कटलाई कम गर्ने विषयमा सम्झौता भएको भन्ने कुरालाई अस्वीकार गरेको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “वर्तमान अवस्थामा मस्को र पेरिस कुनै पनि सम्झौतामा पुग्न सक्दैनन् ।”

रुसी आक्रमणको बढ्दो डरका बीचमा म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए।

मस्कोले युक्रेनको सिमानामा एक लाखभन्दा बढी सेना र सैन्य उपकरण जम्मा गरेको छ तर आफ्नो छिमेकीमाथि आक्रमण गर्ने कुनै योजना नभएको दाबी गरेको छ।

रुसले नेटोलाई युक्रेन र अन्य पूर्वसोभियत राष्ट्रमा विस्तार नगर्न माग गर्नुका साथै अमेरिका र नेटोलाई रुसनजिक आपत्तिजनक हतियार तैनाथ नगर्न र पूर्वी युरोपमा आफ्नो तैनाथी फिर्ता लिन आग्रह गरेको छ ।

म्याक्रोनले सङ्कटलाई कम गर्न कदम चाल्न सकिने विश्वास व्यक्त गर्दै  सबै पक्षलाई शान्त रहन आह्वान गरे।

पुटिन र जेलेन्स्की दुवैले आफूलाई सन् २०१४ को शान्ति सम्झौताका सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताएको उनले बताए । मिन्स्क सम्झौताका रूपमा चिनिने सो सम्झौताले उनीहरूका निरन्तर विवादहरू समाधान गर्ने बाटो प्रस्ताव गरेको उनको भनाइ थियो । एजेन्सी