१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान



अ+ अ-

मलेखु । धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो ।

ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताउनुभयो ।

उहाँले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाउनुभएको छ । विसं २०७८ बाट ड्रागन फुडखेती सुरु गर्नुभएका उहाँले दोस्रोपटकको आम्दानी लिन थाल्नुभएको छ । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उहाँले भन्नुभयो, “घरैमा पुग्नेलाई प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेको छु ।”

टाढा–टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आउनुभएको छु । ड्रागन फुडखेतीका लागि रु २२ लाख लगानी भइसकेको छ । यसलाई अझ विस्तार गर्ने सोचमा रहेको छु । ”

कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उहाँ व्यावसायिक ड्रागन फुडखेतीमा रमाउन थाल्नुभएको छ । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बन्नुभएको छ व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उहाँले बताउनुभयो । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फुडखेतीको सुरुआत गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताउनुभयो । उहाँका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न उहाँको आग्रह छ ।

नीलकण्ठ –१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहनुभएको छ । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाउनुभएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहनुभएको छ । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गर्नुभएका गुरुङले अहिले आम्दानी लिइरहनुभएको छ ।

एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुल्नुभएको छ । गुरुङको बारीबाटै प्रतिकेजी रु पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।

गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । उहाँको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । रासस