४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा
अ+ अ-

म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पस्नुभएका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर एक वर्षपछि बागलुङ आउनुभयो । बाग्लुङको विभिन्न ‘क्याफे’मा तीन वर्ष कुक र वेटर हुनुभएका उहाँ २०६२ असारदेखि कुकको रूपमा बेनीको होटलमा जोडिनुभयो ।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उहाँका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उहाँको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बन्नुभयो ।

“होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ”, लामाले सम्झनुभयोे, “भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकेँ ।” विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँ ‘लामा रेष्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उहाँले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गर्नुभयो ।

तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ । भान्छाघर र लजको दूरी करिब पाँच सय मिटर छ । दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किन्नुभएका लामाले त्यहाँ पाँचतले पक्की घर बनाएर लजको क्षमता विस्तार गर्नुभएको छ । सत्तरी जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उहाँ, श्रीमती र भाइसहित १८ जना रोजगार छन् । घरभाडामा मात्र रु एक लाख ५० हजार तिर्ने भान्छाघर र लजमा रु पाँच करोडभन्दा बढीको लगानी छ । रु छ लाख लगानीमा व्यवसाय सुरु भएको थियो ।

“घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हुँ”, उद्यमी लामा भन्नुहुन्छ, “केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौँ ।”

होटलमा काम गर्दागर्दै एसएलसी र दश जोड दुई उत्तीर्ण गर्नुभएका उहाँले स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभयो । उहाँले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाइदिनुभएको छ ।

“स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन । पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ ।” बिहान ६:०० नबज्दै उठ्ने उहाँ राति सुत्ने बेलामा १२:०० बज्छ ।

नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उहाँ आफँै सक्रिय हुनुहुन्छ । उहाँलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका द्विृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुहुन्छ । “साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ”, उहाँले भन्नुभयो, “मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।”

मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले बनाउनुभएको छ । मीठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता रहेकोब बताइएको छ ।
लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गर्नुभएको छ । धवलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका, बेनी, रघुगङ्गा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिङ लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ । स्थानीय जङ्गलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाउनुभएका उहाँले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्वीर राखेर सजावट गर्ने तयारीमा हुनुहुन्छ ।

“मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु ।” लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ । रासस