५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती



फाईल फोटो
अ+ अ-

राँझा । बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताउनुभयो ।

उहाँका अनुसार नदी बस्तीमा पस्ने डरले राप्ती सोनारीको र नरैनापुर गाउँपालिकास्थित तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका बासिन्दा त्रसित भएका छन् । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ”, यादवले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको छ ।”

तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा डुबानको जोखिम बढेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताउनुभयो ।

नदी नियन्त्रणका लागि थुपारिएका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाइएका तटबन्धसमेत राप्तीले बगाएको स्थानीयले बताएका छन् । तारजालीबिना खसालिएका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । “विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो”, उहाँले भन्नुभयो, “बचेँको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।”

जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि गत असोजमा ‘जनताको तटबन्ध फिल्ड कार्यालय’लाई पत्राचार गरे पनि चासो नदिएकाले राप्ती सोनारीको वडा नं ६ र ७ तथा नरैनापुरको ५ र ६ नं वडाका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेका राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले बताउनुभयो ।

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिम मानिएका राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा तटबन्ध कार्यक्रम लागू गरी बाढी गाउँ पस्न नदिन पहल थालिएको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताउनुभयो । लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिनका लागि तत्काल ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम थालिएको उहाँले बताउनुभयो ।

“तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, नायकले भन्नुभयो, “मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।” उहाँका अनुसार नदी नियन्त्रणका लागि राखिएका ढुङ्गा राप्तीले बगाइसकेको छ ।

नदी नियन्त्रणका लागि सदनदेखि सम्बद्ध सरोकारवाला निकायमा बारम्बार पहल भए पनि कुनै सुनुवाइ हुन नसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताउनुभयो । रासस