४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कहिले खुल्छ ओलाङ्चुगोलास्थित टिप्ताला नाका ?

कहिले खुल्छ ओलाङ्चुगोलास्थित टिप्ताला नाका ?
अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरुले सास्ती खेप्नु परेको छ ।

कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।

सीमावर्ती क्षेत्र बस्ती याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढी, पहिरालगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन् । फक्ताङलुङ–७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ९० प्रतिशत चीनको बजारमा निर्भर रहेको स्थानीयवासी छेतेन टाँसी शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ । याक, चौँरीका लागि नूनदेखि अत्यावश्यक खाद्य सामग्रीमा ल्याउन पाइएको छैन ।”

नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको फक्ताङलुङ गाउँपालिका—७ का वडाध्यक्ष छेतेन भोटेले बताउनुभयो । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो । त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो ।

लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभयोे, “विगतदेखि नै याङ्माका समुदाय चीनको बजारमा निर्भर हुँदै आएको थियो । याङ्मा बस्तीमा नाका बन्द भएदेखि उहाँहरू नेपाली बजारमा भर पर्न थालेका छन् ।” नाका बन्द भएपछि आर्थिक सङ्कट हुँदै आएको चेम्जोङले बताउनुभयो । चीनका विभिन्न बजारमा यहाँको चौँरी, याक तथा पशुजन्य खाद्य पदार्थहरुको प्रमुख बजार हो ।

फक्ताङलुङ–७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौँरी, याक, घिउ, छुर्पी, याक, चौँरीका मासु, जमर (याकको पुच्छर) चीनको बजारमा व्यापार हुने गरेको छ । उहाँले भन्नुभयो, “चार वर्षदेखि नाका बन्द भएको छ । चीनसंँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।” पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको वालुङले बताउनुभयो । ओलाङ्चुङ्गोलामा बुनिएका गलैँचाले चीनमा राम्रो बजार लिएको थियो ।

गलैँचा बिक्री गरेरै यहाँका समुदायहरु राम्रो आयआर्जन गरेका थिए तर चार वर्षदेखि गलैँचा घरमै थुप्रिराखेको ओलाङचुङ्गोलावासी लामा भुजुङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो “मेरा घरमा ५० वटा गलैँचा थुपारिराखिएको छ । जिल्ला सदरमुका फुङ्लिङ बजारमा लगेर बेचेमा कम मूल्यमा बिक्री गर्नुपर्छ । त्यसैले घरमै राखेको छु ।” घर खर्च टार्न उत्पादन गरिएको गलँैंचा सदरमुकाम पुर्‍याएर उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको शेर्पाले बताउनुभयो ।

ओलाङचुङ्गोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुङ्गोलामा पुर्‍याएर राखिएको थियो । लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताउनुभयो ।

चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निरास भएको सिरिजङ्घा गाउँपालिका—७ यामफुदिन निवासी मनकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे तर आजभोति त्यसको कुरा गर्ने व्यापारी भेटिँदैन ।” चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ—६ निवासी चिराइतो कृषक राजकुमार राईले बताउनुभयो ।

लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ । सदरमुकामदेखि ओलाङचुगोलासम्म ५० केजी चामल पुर्‍याउँदा प्रतिकेजी रु सय ढुवानी भाडा पर्न आउँछ । पचास केजी चामल एक बोराको रु पाँच हजार ढुवानी खर्च पर्न आउने फक्ताङलुङ—७ का वडाध्यक्ष शेर्पाले बताउनुभयो । सदरमुकाम फुङ्लिङदेखि एक दिनमा लेलेपसम्म गाडीमा सामान पुर्‍याउन सकिन्छ । लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० सय मिटरसम्मको उचाइका बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ । सामानमा परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुने शेर्पाले बताउनुभयो ।

नाका बन्दा नहुँदासम्म चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो । सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पुर्‍याइने गरेको शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन आउँछ, तर सदरमुकामदेखि ल्याउँदा सामानको खरिद मोलभन्दा तीन गुणा बढी खर्च पर्न आउँछ ।” कतिपय परिवारमा सामान ढुवानी गर्न पनि समस्या हुने गरेको शेर्पाको भनाइ छ ।

याङ्माका कान्दे ग्याबु शेर्पाको दुई वर्षअघि ३२ याक थिए तर अहिले उहाँसँग बढेर ६४ याक छन् । कोरोनाका कारणले चार वर्षदेखि चीनतर्फको नाका बन्द भएसँगै याक चीनका बजारमा बिक्री नहुँदा याकको सङ्ख्या बढ्दै गएको शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चार वर्ष भयो, याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि याकका बाछा र याक बिक्री भएको छैन ।” हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दै आएका छन् । तर चीनमा याक निर्यात नहुँदा दैनिक चलाउँनै मुस्किल भएको स्थानीयवासीको भनाइ छ ।

फिन्चो शेर्पाको पनि गोठमा चार वर्षदेखि याक बिक्री भएको छैन । शेर्पाको चार वर्षअघि २५ याक रहेकामा अहिले ६० हाराहारीमा छन् । याकको पोथीलाई डी र भालेलाई याक भन्नेर छुट्याइने गरेको शेर्पाले बताउनुभयो ।

समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि पाँच हजार मिसम्मको उचाइ याक र डीको उपयुक्त चरन क्षेत्र हो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माका सोनाम शेर्पाले बताउनुभयो । चीनका बजारमा प्रति याक रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको जनाइएको छ । छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताउनुभयो ।

कोरोनाका कारणले तीन वर्षयता टिप्ताला नाका र सङ्खुवासभा जिल्लाको किमाथाङका नाका बन्द हुँदा हिमाली समुदायको प्रमुख पेसाको साधन चौँरी याक बिक्री नभएको मिक्वाखोला गाउँपालिका–५ पापुङका याक व्यवसायी रिङ शेर्पाले जानकारी दिनुभयो । मिक्वाखोला—५ तोक्पेगोला क्षेत्रमा रहेका याक चाँैरीलगायत पशुजन्य वस्तु किमाथाङका नाका हुँदै चीनका विभिन्न बजारमा बिक्री हुने गरेको थियो । तोक्पेकोला क्षेत्रमा ३५ चौँरी याकका गोठ रहेको मिक्वाखोला गाउँपालिकाका उपअध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पेखोला क्षेत्रमा दुई हजारभन्दा बढी याक रहेको बताइएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सात गाउँपालिकामा चौँरी याकपालन हुँदैआएको छ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याक पालनतर्फ आकर्षित हुने गरेको घुन्साका पेमा शेर्पाले जानकारी दिनुभयो । टिप्ताला नाका भदौदेखि खुल्ने आउँदो भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले बताउनुभयो  । नाका खुल्ने खबरले सीमा क्षेत्रका समुदायहरु अहिले निकै उत्साहित भएका छन् ।

वडाध्यक्ष छेतेनलाई काठमाडौं बसेर नाका खुलाउने पहल गर्न गाउँका हरेकलाई अनुरोध गरेका थिए । त्यही चाहना पूरा भएको सुन्दा खुसी भएको ओलाङचुङगोलाकी डोङगा शेर्पाले बताउनुभयो ।े “यताबाट गलैंचा, घिउ बेच्न पाइएको छैन, उताबाट नुन पनि ल्याउन पाइएको छैन ।” उहाँले भन्नुभयो, “नाका खुलेपछि धेरै राम्रो हुन्छ । सबैलाई सजिलो हुन्छ ।” परिचयपत्र र नागरिकता अनिवार्य गरिएकाले त्यसको व्यवस्थापन गर्नुहोला, आगामी सेप्टेम्बर १० देखि नाका खोल्न सकिने खबर आएको उहाँको भनाइ छ । छेतेनले भन्नुभयो “मलाई डिङ्जे काउन्टीका प्रशासन प्रमुख र प्रहरी प्रमुख दुवैले खबर गरेका छन् ।” प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पनि नाका खोल्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।

नाका खुलाउँने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो । नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गरेका थियो । छेतेनका अनुसार टिप्ताला भन्ज्याङबाट मात्रै आउजाउ गर्ने गरी खुलाउने चिनियाँ अधिकारीले बताएका छन् । यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो ।

विशेषगरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमी दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ ।

सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् । रासस