४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दाः लाखौँ कुम्ल्याएर सञ्चालक फरार

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दाः लाखौँ कुम्ल्याएर सञ्चालक फरार
अ+ अ-

सुरुङ्गा । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ ।

बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा–६ निवासी चन्दा अधिकारीले बताउनुभयो ।

श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान)ले आफूहरूसँग रु तीन लाख ठगी गरेको अधिकारीले बताउनुभयो । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमान्लाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित रु एक लाख, चार महिनापछि पुसमा पुनः रु एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि रु नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः रु एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताउनुभयो ।

रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहनुभएका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएर पुनः रु एक लाख चैत ३ गते दिएका हौँ । योसहित उनीहरूले हामीलाई ठगेको रु तीन लाख नौ हजार छ सय पुगेको हो ।

वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको रु एक लाख रकम प्रदान गरेको र राहदानीको मितिसमेत सकिन लागेकाले नयाँ राहदानी बनाएको अधिकारीको भनाइ छ ।

“सन् २०२४ मा श्रीमान्को राहदानीको मिति सकिँदै थियो”, अधिकारीले भन्नुभयो, “हतारहतार गर्दै नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौँ । राहदानी लगेसँगै अञ्जान बेपत्ता बने । हामी अहिले ऋणले घरको न घाटको भएका छौँ । सयकडा तीन रुपैयाँ ब्याजले पैसा खोजेको थियो । अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन् । न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो । हाम्रो त उठिबास नै लाग्यो ।”

“घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटकरपटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी धायौँ”, अधिकारीले भन्नुभयो, “हाम्रो आवाज कसैले सुनेन । अनि मिडिया गुहारेका हौँ हामीलाई अन्याय भएको लेखिदिनुप¥यो ।”

“श्रीमान्लाई विदेश पठाएसँगै जीविकोपार्जनमा सहज हुने कत्रो सपना थियो”, अधिकारीले गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले ठगले हामीलाई न घरको बनाए न घाटको ।”

अधिकारीसँगै ठगिनेमध्येका शिवसताक्षी–१० का दीपककुमार कोइरालाको पनि व्यथा उस्तै छ । रोमानिया जाने सुन्दर सपना बोकेर रु ७० हजारसहित कोइरालाले पनि राहदानी धर्म तिम्सिनालाई थमाउनुभयो । तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै उनै अञ्जान बरालसँग जोडाएका थिए ।

युरोपको काम हेर्न अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भए पनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित रु ५० हजार लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै रु २० हजार लिएको कोइरालाको भनाइ छ ।

“हाम्रो एउटै गाउँ हो डराउनुपर्दैन, पहिला मेरो खगोल मेनपावर थियो अहिले युरोपको पनि काम हेर्न गरी यो मेनपावर चलाएका हौँ” तिम्सिनाको भनाइ उद्धृत गर्दै कोइरालाले भन्नुभयो, “तपाईंको वर्क पर्मिट साउन १५ गते आइसक्छ । भदौको पहिलो हप्ता दिल्ली जानुपर्छ तयारी अवस्थामा बस्नू ।”

कोइरालाका अनुसार उनी अहिले एकाएक बेपत्ता बने । उनले भनेको वर्क पर्मिट पनि नक्कली हरेछ । घरमा जाँदा उनी भेटिँदैनन् । अफिस पनि महिनौँदेखि बन्द गरेर उनी फरार भएका छन् ।

यता कनकाई नगरपालिका–३ का अमित काफ्लेको पनि रोमानिया जाने योजना सपनामा परिणत भएको छ । उहाँलाई पनि सोही गिरोहले ठगी गरेको बताइएको छ । आफूले पनि अञ्जान बराललाई राहदानीसहित रु ५० हजार बुझाएको तर अहिले उनी एक वर्षदेखि सम्पर्कविहीन भएको काफ्लेको भनाइ छ ।

आफ्नै गाउँका भाइ सुसान भट्टराईमार्फत बरालसँग सम्पर्क भएको र बराललाई आफूले एनआइसी एसिया बैंकमार्फत रकम प्रदान गरेको काफ्लेको भनाइ छ । “रोमानियाको हम्बोर्ड भन्ने कम्पनीबाट अफर लेटर आएको भन्दै सुरुमा मलाई त्यो लेटर देखााएर अल्मल्याइयो । पछि बुझ्दा त्यो नाम गरेको कम्पनी नै रोमानियामा रहेनछ”, उहाँले भन्नुभयो । रोमानियामा रहेका आफ्ना साथीभाइलाई आफर लेटर पठाएर त्यो कम्पनीको विषयमा बुझ्न लगाउँदा अफर लेटरको लोकेशनमा कम्पनी नै नरहेको काफ्लेको दाबी छ ।

“उनीहरूले दिएको मसँग वर्क पर्मिट पनि छ तर, त्यो वर्क पर्मिट पनि नक्कली छ”, काफ्लेले भन्नुभयो, “हम्बोर्ड कम्पनी देखाएर मलाई जीएमडी इन्डस्ट्रीको वर्क पर्मिट दिइएको छ । वर्क पर्मिटमा भएको त्यसको दर्ता नम्बर कोड गुगलले अर्कै कम्पनीको नाम अस्तर भन्ने देखाउँछ । त्यस आधारमा पनि म ठगिएँछु भन्ने लागेर एजेन्ट र मेनपावर कम्पनी पुग्दा उनीहरू मेनपावर बन्द गरेर फरार भइसकेछन् ।”

वैदेशिक रोजगारीमा जाने सुन्दर सपना सजाएर रकम बुझाएकामध्ये अधिकारी, कोइराला र काफ्ले प्रतिनिधि मात्रै हुन् । उनीहरूजस्ता धेरैलाई माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेको पीडितले आरोप लगाएका छन् ।

ओशो वर्ल्ड कन्सल्टेन्सीका नाममा लक्ष्मीप्रसाद बराल (अञ्जान) पदम योङ्हाङ, धर्म तिम्सिना र लक्ष्मण घिमिरेको गिरोहले आफूहरूबाट लाखौँ रूपैयाँ ठगेको पीडितहरूले बताएका छन् । उनीहरूबाट ठगिनेमा कनकाई नगरपालिका–३ निवासी सविना कोइराला भट्टराई (रोमानिया– रु एक लाख), कनकाई–३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया– रु ५० हजार), कनकाई नगरपाालिका–३ कै चिरञ्जीवी महत्तो (माल्टा– रु एक लाख), बिर्तामोड नगरपालिका–४ का विनोद उप्रेती (माल्टा– रु एक लाख), बुद्धशान्ति गाउँपालिका–५ का गोविन्द ढुङ्गाना (माल्टा– रु एक लाख), मेची नगरपालिका–९ का ओम प्रकाश भण्डारी (माल्टा– रु एक लाख), बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा– रु एक लाख), बिर्तामोड नगरपालिका–४ का विकास उप्रेती (रोमानिया– रु ७० हजार), शिवसताक्षी नगरपालिका–१० का दीपककुमार कोइराला (रोमानिया– रु ७० हजार)सहित राहदानी लगेको बताइएको छ ।

त्यस्तै ठगीमा पर्नेमध्ये अर्जुनधाराका रोमन सापकोटा (रोमानिया– रु ५० हजार), शिवसताक्षी–१० का गङ्गाप्रसाद पराजुली (रोमनिया– रु ७० हजार) कनकाई–४ का दुर्गाप्रसाद कोइराला (रोमानिया– रु ७० हजार), बुद्धशान्ति–२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया– रु दुई लाख), कनकाई नगरपालिका–३ का किरण कुमाल (रोमानिया– रु ५० हजार), कनकाई–३ का अशोक थापा (रोमानिया– रु ३० हजार), कनकाई–३ का डिकबहादुर भुजेल (रोमानिया– रु ५० हजार) सहित ७० जनाभन्दा धेरैको राहदानीसहित लाखौँ रुपैयाँ लिएर बेपत्ता बनेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

ठगी आरोप लागेका चारै जना अहिले सम्पर्कमा नरहेको पीडितको भनाइ छ । यो समाचार तयार गर्ने क्रममा उनीहरूले प्रयोग गर्दै आएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनीहरूको मोबाइल स्वीच अफ रहेको पाइएको छ । रासस