४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एल्ब्रसको चुचुरो चढेपछि आरोही शेर्माले भने– हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ

एल्ब्रसको चुचुरो चढेपछि आरोही शेर्माले भने– हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ
अ+ अ-

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहकासाथ आरोहणयात्रा तय गर्दै उहाँ गत साउन २६ गते आरोहणका लागि रसिया जानुभयो ।

आरोहण प्रक्रिया पूरा गरी गत बिहीबार साउन ३२ गते बिहान शेर्माले माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर राष्ट्रिय झण्डा फहराउन सफल हुनुभयो । “हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो”, हिमाल आरोहण सकेर मङ्गलबार काठमाडौँ ओर्लिनुभएका आरोही शेर्माले भन्नुभयो, “क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ ।”

सगरमाथा र एल्ब्रस चढ्न कुन बढी कठिनाइ रहेछ भनी सोधिएको जिज्ञासामा आरोही शेर्माले भन्नुभयो, “फरक भनेको हिमालको उचाइ मात्रै हो । हिउँ उस्तै हो, हिमाल चढाइको रमाइलो र कष्ट दुवै उस्तै हुन् । हिमालमा देखिने दृश्य र ती दृश्यले लोभ्याउने पल, मौसममा आएको बदलीले उब्जाउने त्रास सबै उस्तै हुन् । त्यहाँ पुग्दा सगरमाथाको उचाइमा पुगेजस्तै अनुभूति भयो ।”

आरोही शेर्माको बुझाइमा सगरमाथामा हिमपहिरो र ग्लेसियर बढी जोखिम हुनेगर्छ भने एल्ब्रसमा ग्लेसियर कम हुने हुनाले दुर्घटनाको जोखिम कम हुन्छ । उहाँले विसं २०७४ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

एल्ब्रस हिमालका लागि काठमाडौँदेखि मस्को हुँदै मिनिटल्नी बोधे भन्ने ठाउँसम्म हवाई मार्गबाट जानुभएका शेर्मा त्यहाँबाट करिब ६ घण्टा पैदलयात्रापछि आजाउमा पुग्नुभएको थियो । शेर्माले आजाउबाट तेसकोल हुँदै छिकेद पिकसम्मको आरोहण अभ्यास गर्नुभएको थियो । उहाँको टोलीमा नेपाली गाइड चतुरमान तामाङ र रसियन गाइड डेनिससहित त्यहाँका तीन आरोही गरी पाँचजना सहभागी थिए ।

आजाउ नजिकैको माउन्टेन हटदेखि बुधबार मध्यरात माउन्ट एल्ब्रसका लागि प्रस्थान गर्नुभएका उहाँले रातभर आरोहण यात्रा तय गरेर बिहीबार बिहान ५:१५ बजे सफलतापूर्वक आरोहण गरी नेपाली झण्डा फहराउनुभएको थियो । शेर्माको पर्वतारोहणको चाँजोपाजो ट्रेकिङ एजेन्सी चतुर ट्रेक एन्ड एभडेन्चर प्रालिले गरेको थियो ।

रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा, लुम्बिनीलगायत नेपालका धार्मिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी दिँदै उनीहरुलाई नेपाल भ्रमणको निम्तो दिएको आरोही शेर्माले बताउनुभयो । “आरोहणका क्रममा आफूले बयान गरेको यहाँको वस्तुस्थितिका बारेमा सबै आरोहीले कौतुहलतापूर्वक सुनेका थिए”, उहाँले भन्नुभयो, “उनीहरुले नेपाल भ्रमणमा आउने चासो पनि देखाएका छन् ।”

शेर्माले यसपछि तान्जानियाको किलि मन्जारो हिमाल आरोहण गर्ने योजना बनाउनुभएको छ । सात महादेशका सात वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता र नेपालको पर्यटन प्रवद्र्ध्नमा योगदान पुर्‍याउने उद्देश्यले हिमाल आरोहण अभियान सुरु गरिएको शेर्माले बताउनुभयो । आरोहण अभियानको नारा ‘विश्व मानव शान्तिका लागि मानव एकता र धार्मिक सहिष्णुता कायम राखौँ’ रहेको उहाँले जानकारी दिनुभयो ।

पाँचथरका ३६ वर्षीय शेर्माले यसअघि सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ र आइसल्यान्ड पिकको सफल आरोहण गरिसक्नुभएको छ । उहाँले नेपालको होचो भूभाग केचनाकवलदेखि विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा बेस क्याम्पसम्मको पैदलयात्रा पनि गरिसक्नुभएको छ । पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन प्रवद्र्धनका साथै धार्मिक सहिष्णुता कायम गर्नका लागि आफू लागेको बताउनुभयो ।

“देश पर्यटनको माध्यमबाट समुन्नत र समृद्धिको दिशामा अघि बढोस् भन्ने मेरो चाहना छ, पर्वतारोहीलाई राज्यले पनि सम्मान गर्नुपर्छ । उनीहरुको जीविकोपार्जनका लागि केही व्यवस्था हुनसके पवर्ततीय पर्यटनको प्रभावकारी प्रवद्र्धन हुने थियो”, आरोही शेर्माले भन्नुभयो । आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विशेषज्ञबाट तालिमको यथोचित व्यवस्था गरी पूर्ण व्यावसायिक बनाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो । आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गर्दै अर्को देशको भाषा, संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

आरोही शेर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शेर्मा समुदायका अगुवा एवं प्रतिनिधिले सांस्कृतिक परम्परासहित स्वागत गरेका थिए । स्वागतपछि आयोजित कार्यक्रममा शेर्मालाई सम्मान गरिएको थियो । सोही अवसरमा उहाँले आफ्नो आरोहण अनुभव सुनाउनुभएको हो । रासस