३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौतले दरबार पुन:निर्माण अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुन:निर्माण अन्तिम चरणमा पुगेको छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भएको नौतले दरबार पुन:निर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको थियो । विसं २०७६ चैतपछि कोरोनाका कारण काममा समस्या आएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो ।

पुरातत्व विभागले पुन:निर्माणमा प्राविधिक सहयोग गरेको थियो । पुन:निर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको थियो । विसं २०७६ चैतअघि नै ८० प्रतिशत काम सकिएकामा कोरोना महामारीका कारण बाँकी काम सकेर संरचनाका काम हालै सम्पन्न गरी भित्री साजसजावट र ग्यालरीको काम भइरहेको उहाँले जानकारी दिनुभयो । करिब एक वर्षमा भित्री सजावट र ग्यालरीका काम पनि सम्पन्न गरी सङ्ग्रहालयकै रुपमा नौ तले दरबार सर्वसाधाराणको अवलोकनका लागि खुला गरिने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

विभागका पूर्व महानिर्देशक दामोदर गौतमले कोरोना महामारी शुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भएको बताउनुभयो । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको हो । हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ ।

करिब रु १६ करोड लागतमा दरबार पुन:निर्माण भएको जनाइएको छ । दरबार पुनर्निर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको हो ।

सम्झौता अनुसार सन् २०२२ को नोभेम्बरसम्म नौतले दरबार पुन:निर्माणको म्याद रहेको थियो । समयमा काम नसकेपछि पुन:निर्माणका लागि म्याद थप गरिएको हो । वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचनाको पुन:निर्माण अझै सकिएको छैन । यस क्षेत्रका ९५ सम्पदामध्ये ७५ वटामा भूकम्पले क्षति गरेको इञ्जिनीयर रेणु महर्जनले जानकारी दिनुभयो । हालसम्म ४२ सम्पदा पुन:निर्माणको काम सकिएको छ । हाल ११ सम्पदा पुन:निर्माणको काम भइरहेको छ । २२ सम्पदाको भने अझै पुन:निर्माण सुरु हुन सकेको छैन । बजेट अभावमा २२ सम्पदा पुन:निर्माण गर्न नसकिएको इञ्जिनीयर महर्जनले बताउनुभयो ।

नुवाकोट दरबार पुन:निर्माण जारी

चीनले नुवाकोटको सात तले दरबारको पुनर्निर्माणमा पनि सहयोग गरेको छ । चीनकै सहयोगमा नुवाकोट दरबार क्षेत्रको पुन:निर्माणको काम पनि भइरहेको जनाइएको छ ।

नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहल लगायत सबै संरचना चीन सरकारले नै पुनर्निर्माण गर्दैछ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानो स्वरुपमै निर्माण गरिरहेको विभागले जनाएको छ । नुवाकोटको साततले दरबारको निर्माण पनि पृथ्वीनारायण शाहले नै गराउनुभएको हो । रासस