• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विप्रेषण आप्रवाह ५ प्रतिशत घट्यो, शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति निकै निराशाजनक रहेको जनाएको छ ।

बैंकका अनुसार, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । छ महिनाको अवधिमा विप्रेषण आप्रवाह रु.४ खर्ब ६८ अर्ब ४५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । 

त्यस्तै, शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको बताउँदै बैंकले कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको जनाएको छ ।
आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई रु.१ खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

तर आयातको हिस्सा भने निकै बढी रहेको बैंकले जनाएको छ । कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ ।

हेर्नुहोस् पूर्ण विवरण