• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

ड्रागन खेतीमा रमाउँदै सुवेदी



फाईल फोटो

चितवन । ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी निकै मेहनतका साथ लाग्नुभएको छ । आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताउनुभएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ ।

बिरुवा उत्पादनदेखि बिक्रीसम्म उहाँ जुट्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उहाँले व्यावसायिक कृषि गरेर यहीँ सम्भव छ भन्ने देखाउनु भएको छ । भरतपुर महानगरपालिका –७ निवासी सुवेदीले विगत तीन वर्षदेखि दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गर्दैआउनुभएको छ । यो खेतीसँगै उहाँले सोही जमिनमा तरकारी, मकै लगायतको खेती गर्दै आउनुभएको छ । सुवेदीले चितवन एकेडेमी फर टेक्निकल कलेजको भरतपुर–७ प्रेमबस्तीमा रहेको जग्गा वार्षिक प्रतिकठ्ठा रु दुई हजार पाँच सयमा भाडामा लिएर खेती गर्दै आउनुभएको छ ।

उहाँले अहिले सो जमिनमा सूर्यमुखी फूल, तरकारी र ड्रागनखेती गरेर वार्षिक रु पाँच लाखदेखि सात लाखसम्म बचत गर्दै आउनुभएको छ । आफु रोजगारीको सिलसिलामा काठमाडौँ बस्दा ड्रागन खाएको र सानैदेखि यसको खेती गर्ने सोच भएकाले अहिले त्यसलाई पूरा गर्न आफु लागेको उहाँले बताउनुभयो । उहाँले मलेसियाबाट नेपाल ल्याएर हुर्काएका एक हजार, भियतनामका दुई हजार र भारतको राजस्थानका दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती गर्नुभएको हो । सुरुमा उहाँले मेसियाबाट ल्याइएका बिरुवाबाट खेती थाल्नुभएको हो ।

उहाँले क्रमश: अन्यत्रबाट बिरुवा ल्याउनु भएको हो । उहाँले भन्नुभयो “सुरुमा मैले मलेसियाबाट ल्याएको ड्रागनको बिरुवाबाट यो खेती सुरुवात गरेको हुँ ।” सुवेदीले तिनै बिरुवा उत्पादन गरेको एक सय किलो ड्रागन फुट्स गतवर्ष दुबई पठाउनुभयो । उहाँले भन्नुभयो “अहिले पनि कतारमा कुरा भइरहेको छ ।” यसको माग विदेशमा समेत बढ्दो मात्रामा रहेको उहाँको भनाइ छ । विदेशमा राम्रो माग रहेको जनाउँदै उहाँले उत्पादन गर्न सके बजारको अभाव नहुने बताउनुभयो ।

सुवेदीको बारीमा अहिले छ प्रकारका ड्रागनका बिरुवा छन् । त्यसमध्ये सेतो र तीन थरी रातो रङ्गको ड्रागनको उत्पादन भइरहेको उहाँले बताउनुभयो । अहिले उहाँको बारीमा भियतानाम र अमेरिकाबाट ल्याइएका बिरुवा उत्पादन दिने तयारीमा छन् । उहाँले भन्नुभयो, “गतवर्ष मैले रु १० लाखको ड्रागन बेचेको हो, अहिले पनि रु तीन लाखको फल बिक्री गरिसकेको छु ।”

बिरुवा बेच्न सके नाफा बढ्ने उहाँको भनाइ छ । गतवर्ष रु तीन लाख बराबरका बिरुवा बिक्री गरेको सुवेदीले बताउनुभयो । सुरुवातमा लगानी धेरै लागे पनि अन्य वर्षमा खासै लगानी नहुने उहाँले जानकारी दिनुभयो । बिरुवा रोपेपछि हरेक वर्ष मजदुर, मल र जग्गा भाडामा मात्रै खर्च हुने उहाँको भनाइ छ ।

विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिम जस्ता मानव जीवनमा आवश्यक प्रसोधित सामग्रीको उत्पादन हुने गरेको सुवेदीले जानकारी दिनुभयो । उहाँले यस खेतीमा एक पटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताउनुभयो । उहाँको तीन वर्षको अनुभवले आफ्नो जमिन हुनेले थोरै ठाउँमा धेरै आम्दानी गर्न सक्छन् । उहाँले भन्नुभयो “आफ्नो बारी बाझै छाडेर विदेश जानुपर्दैन ।” बिरुवा लगाएको पाँच/छ महिनाबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ ।

वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेष गरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । जिल्लामा ५० देखि ६० बिघा क्षेत्रफलमा यो खेती गरिएको अनुमान छ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरा लगायतका सहरमा पुग्ने गरेको छ । कतिपय उत्पादन विदेशसमेत जाने गरेको छ । सुवेदी नेकपा ९एमाले०को प्रदेश समिति सदस्य हुनुहुन्छ । विदेशमा रु ३०/४० हजार कमाउन जानुभन्दा यही व्यावसायिक कृषि कर्म गर्नु उत्तम हुने उहाँको सुझाव छ । रासस