• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ ।

चिन्नास्वामी रंगशालामा आज साँझ मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यद्यपि, चिन्नास्वामी भारतका केही स्टेडियमहरू मध्ये एक हो जहाँ ड्रेनेज प्रणाली धेरै राम्रो छ । पानी परेपछि पनि यहाँ खेल सुरु हुन सक्छ ।

आजको खेलमा दुबै टिमलाई प्लेअफमा पुग्ने मौका छ । यदि चेन्नईले ले खेल जित्यो भने उ सजिलै प्ले अफमा पुग्न सक्छ । जहाँ आरसीबीले कम्तिमा १८ रनले जित्नुपर्नेछ । यदि आरसीबीले १७ रन वा कमले जित्यो भने कम नेट रन रेटको आधारमा बाहिरिनेछ ।

हेड टु हेडमा, चेन्नई बैंगलोर भन्दा राम्रो छ । यी दुईबीच अहिलेसम्म ३२ आईपीएल खेल भइसकेका छन् । जसमध्ये ११ खेल बैंगलोर र २१ खेल चेन्नईले जितेको छ । जबकि एक खेलको नतिजा भने अनिर्णित रह्यो ।

त्यसैगरी, चिन्नास्वामी स्टेडियममा दुवै टोली १० पटक भिडेका थिए, जसमा चेन्नईले ५ खेल जितेको छ भने बैंगलोरले ४ खेल जित्दा एक खेल निष्कर्षविहीन रह्यो ।

आरसीबीका ब्याट्सम्यान उत्कृष्ट फर्ममा छन् । स्टार ब्याट्सम्यान विराट कोहली, कप्तान फाफ डु प्लेसिस, दिनेश कार्तिक र रजत पाटीदारले ३०० भन्दा बढी रन बनाएका छन् । कोहलीको नाममा ६६१ रन छन् । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक स्कोरर हुन् । तर, टोलीको बलिङ विभागले धेरै निराश बनाएको छ । १० खेलमा ११ विकेट लिएका मोहम्मद सिराज सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

चेन्नईका कप्तान रुतुराज गायकवाड टोलीका सर्वाधिक स्कोरर हुन् । उनले १३ खेलमा ५८३ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टिमका सर्वाधिक विकेट लिने बलर तुषार देशपाण्डे (१६ विकेट) छन् ।

आजको खेलमा बैंगलोरका विल ज्याक र रिस टोपले खेल्ने छैनन् । यी दुवै खेलाडी आफ्नो देश इंग्ल्याण्ड फर्किएका छन् ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ । हालसम्म यहाँ ९४ आईपीएल खेल खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले ४० खेल जितेको छ भने पछ्याउने टोलीले ५० खेल जितेको छ । यहाँ ४ खेल अनिर्णित रह्यो ।

बैंगलोरमा आज बादल रहनेछ र ७८ प्रतिशत वर्षा हुने सम्भावना छ । यस दिन यहाँको तापक्रम २२ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, ग्लेन म्याक्सवेल, रजत पाटीदार, महिपाल लोमरर, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), कर्ण शर्मा, मोहम्मद सिराज, लोकी फर्गुसन र यश दयाल ।

चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, डेरिल मिचेल, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, एमएस धोनी, शार्दुल ठाकुर, महिश तिक्षाणा, तुषार देशपांडे र सिमरजीत सिंह ।