• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन



काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिवार सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै एपिएफ च्याम्पियन भएको हो । एपिएफ पहिलोदेखि चौथो संस्करणसम्म च्याम्पियन भयो । कुल पाँच टोली सहभागी प्रतियोगिताको लिगमा पनि एपिएफले सुदूरपश्चिमलाई हराएको थियो । फाइनल निकै प्रतिष्पर्धात्मक भए पनि सुदूरपश्चिमले जित निकाल्न भने सकेन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५३ रन मात्र जोड्न सक्यो ।

खराब शुरुवात बाबजुद सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले शतकीय साझेदारी गर्दै जित आशा देखाए । ६.४ ओभरमा सुदूरपश्चिम ४९÷५ को अवस्थामा थियो । तर, कविता र लक्ष्मीले छैटौं विकेटका लागि १०४ रनको साझेदारी गरे । तर अन्तिम ओभरमा पाँच रन बनाउन असफल हुँदा सुदूरपश्चिमले हार व्यहो¥यो । कविता ६७ रन र लक्ष्मी २९ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेकी कविताले ४५ बलमा सात चौका र ३ छक्का प्रहार गरे । सुस्त खेलेकी लक्ष्मीले ३५ बलमा दुई चौका हिर्काइन् ।

त्यसअघि कप्तान विन्दु रावल १९, सम्झना खड्का १० र साबित्री धामीले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफको बलिङमा करुणा भण्डारीले दुई र सुमन बिष्टले एक विकेट लिए । करुणाबाहेक सबै बलर महँगा रहे पनि एपिएफले लक्ष्य पूरा गर्न दिएन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १५५ रन जोड्यो । एपिएफका ओपनरद्वय राजमति ऐरी र सीता रानामगरले अर्धशतक बनाउँदै राम्रो योगफलतर्पm अग्रसर गराए । राजमति ५० रन र कप्तान सीता ७४ रनमा आउट भए ।

यी दुईबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी बन्यो । राजमतीले ४६ बलमा सात चौका हिर्काइन् । ५५ बल खेलेकी सीताको इनिङमा सात चौका रह्यो । इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै सीताले राम्रो स्थितिमा पु¥याएकी हुन् । ममता चौधरी १० रनमा नटआउट रहिन् । यी तीनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, बिन्दु रावल र राधिका पुजराले समान एक विकेट लिए ।

लिगमा अपराजित एपिएफ पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी कप्तान सीता रानामगर घोषित भइन् । उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी सम्झना खड्का र उत्कृष्ट बलर ललितपुर मेयर्स–११ की कृतिका मरासिनी घोषित भए । सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स, कोसी प्रदेश र बागमती क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहे । यी तीनैले समान एक खेल जितेका थिए ।