९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुकीमै पुगेर लम्पी स्किनको उपचार



अ+ अ-

ढोरपाटन । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन सङ्क्रमण भएपछि उनीहरु निराश छन् ।

सङ्क्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको सङ्ख्यामा सङ्क्रमित छन् । पशुको शरीरभरि घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन् । पशुमा सङ्क्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ । बेसीमा सङ्क्रमित भएका पशुचौपायालाई गोठमै प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीसहित पशु प्राविधिकको टोली बुकीमै पुगेर औषधि वितरण तथ खोप लगाएर फर्किएको छ ।

प्राविधिकसहितको टोली बुकीमा पुगेर बिरामी पशुको उपचार गरेपछि किसानसमेत खुसी भएका छन् । बुकी ढोरपाटनभन्दा धेरै टाढा पर्छ । यो याममा सबैभन्दा बढी चौपाया बुकीमा हुने र बढी सङ्क्रमित पनि त्यही भएको हुँदा प्राविधिकको टोली बुकीमा पुगेर पशुचौयापाको उपचार गरी फर्किएको हो । आवश्यक औषधि, खोप र स्प्रे लिएर बुधबार बुकी बुकेको प्राविधिक टोली शुक्रबार साँझ मात्रै फर्किएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

बुकीबाट पशु सङ्क्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राविधिक टोली बुकी गएको उहाँले बताउनुभयो । बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनाका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ । यसले कृषकलाई ठूलो राहत पुगेको उहाँ बताउनुहुन्छ । बुकी निकै टाढा भए पनि आफूहरु दिनभरि हिँडेर गोठमा पुगेको ज्ञवालीले सुनाउनुभयो ।

“लम्पी स्किन निकै खतरनाक रोग रहेछ, धेरै ठाउँमा फैलिएको यो रोग ढोरपाटनको बुकीसम्म पुग्यो, बुकी धेरै टाढा रहेछ, चार हजार पाँच सय मिटरको उचाइको बुकीमा पुगेर तीन हजार मिटरमा ओर्लिएपछि गोठहरु भेटिए, पशुचौपाया खुल्ला ठाउँमा थिए, धेरैमा सङ्क्रमण देखियो”, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, “हामीले आवश्यक औषधि, खोप र स्प्रे लगेका थियौँ, प्राविधिकले खोप लगाउनुभयो, उपचार गर्नुभयो, केही औषधि किसानलाई नै छोडेर आएका छौँ, सङ्क्रमण बढ्दै गए नगरपालिकालाई सम्पर्क गर्न भनेका छौँ ।”

आफूहरु बुकीमा दुई दिन बसेर पशुको उपचार गरेको उहाँले बताउनुभयो । गोठमा बस्दै आएका किसानले पशुको उपचारसँगै त्रिपाल, सोलार लगायतका आवश्यक सामग्रीको माग गरेको भन्दै त्यसलाई पनि नगरपालिकाले व्यवस्थापन गर्दै जाने ज्ञवालीले बताउनुभयो । अहिले नगरपालिकाले एकजना प्रविधिकलाई बुकीमै खटाएको उहाँको भनाइ छ ।

हालसम्म ढोरपाटन नगरपालिका भर एक हजार सात सय बढी पशुचौपाया सङ्क्रमित भएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये एक सय सात बढी चौपाया मरेको  खनालको भनाइ छ । सङ्क्रमणपछि मृत्यु हुनेमा अधिकांश गोरु रहेको भन्दै केही गाई, केही भैँसी र बाच्छाबाच्छी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले गाउँमा भएका पशुचौपाको पनि प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको उहाँको भनाइ छ ।

“बुकीमा भएका धेरै पशुमा पनि समस्या देखियो, भौगोलिक रुपले टाढा र अफ्ठ्यारो स्थानमा हुँदा किसानले समयमै खबर गर्न सक्नु भएन, यद्यपि केही ढिला भए पनि त्यहाँ पुगेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास भएको छ, अहिलेसम्म सङ्क्रमित भएकामध्ये मृत्यु हुनेको सङ्ख्या कम छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणलाई पूरै नियन्त्रण गर्न गाउँमा भएका पशुचौपायको पनि उपचार भइरहेको छ, जहाँ सङ्क्रमण फैलिएको छ, त्यहाँ नगरपालिकाबाट प्राविधिक गएर उपचार गर्ने खोप लगाउने काम गर्नुभएको छ ।”