• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो म आज एक्लै निडर भएकी छु :एलिना चौहान



सबैमा नमस्कार
आज हजुरहरुले मप्रति दर्शाउनुभएको माया देखेर न नतमस्तक भएकी छु । मैले दिएको पछिल्लो समयको एक अन्तर्वार्तालाई लिएर धेरैले मलाई सम्झाउन, सम्पर्क गर्न खोज्नुभएको छ ।

हुनत हजुरहरुबाट मैले यो आशा पनि गरेकी छु किनकि मैले चढिरहेको उचाइको मूल तत्व हजुर मेरो शुभ चिन्तक नै हुनुहुन्छ ।

अन्तर्वार्तामा मैले जीवनको धेरै कालखण्डको कुरा गरेँ जहाँ मेरो त्यो सुरुआती बेलाको मेहनतको तितो भोगाइ र अहिलेको उचाइको व्यवस्थापनसम्मको कुरा थियो । सफलता अधिकांश मान्छेलाई बिना परिश्रम आउने कुरा होइन । कतिले मैलेभन्दा अझै भढी परिश्रम पनि गरेका होलान् त केहीले थोरै । कमलो मनको मान्छे म कुराकानी गर्दै गर्दा मेरा आँखाबाट आँसु झरेछन्, म भावुक बन्न पुगेछु । हुन त मैले जे लगाउँछु, जे खान्छु, जे गर्छु र जे गर्नेछु ती सबै कसै न कसैका लागि प्रेरणा बनोस् भनेर सबैलाई देखाउने बानी छ । साधारण छ जीवन मेरो, ठूलो सपना नदेखी यो क्षेत्रमा छिरेँ र जति अगाडि बढ्दै गएँ त्यतिनै मुस्किल बन्दै गयो लक्ष्य भेट्न अनि त्यतिनै धेरै मेहनत गर्नुपर्यो ।

हुन त म कलाकार हुँ, सबैको मन बुझाउन सकेँ भने सबैले मन पराउनेछन् यहाँ तर मेरो पनि व्यक्तिगत जीवन छ । कुनै बेला त्यो मेरो व्यावसायिक जीवनमा नचाहँदा चाहँदै पनि व्यक्तिगत जीवनको असर पर्न जान्छ । जतिबेला म सानो सपना बोकेर देशको राजधानी छिरेँ त्यतिबेलाको मभित्रको मभन्दा कयौँ गुणा ममा आत्मविश्वास र हिम्मत पलाएको छ । मेरो सपनाको सहरमा पाइला टेक्दै गर्दा सबै बिरानो थिए तर आज यहाँ मैले सबैलाई नचिने पनि अधिकांशले मलाई चिन्नुहुन्छ । वर्तमान अवस्थाभन्दा त्यो समय मलाई धेरैनै कठिन थियो । आज म जहाँ छु, जुन अवस्थामा छु मलाई सहयोग गर्ने धेरै नै हुनुहुन्छ ।

म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरहरुको मायाले दिनेछैन । भोगेको दु:खले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच शैतानी मस्तिष्कमा भरिनु स्वाभाविक थियो तर मैले हार खाएकी छैन । मैले विगतका कुरा गर्दै गर्दा कमजोर भइछे नसम्झिनु होला । अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ हजुरहरुको साथ देखेर । आत्महत्याको कुरा गर्दै गर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतित थिए । आज सुखै सुखमा छु त भन्न खोजेको त हैन तर धेरै दु:ख पनि छैन ।

कलाकारको जीवन सोचेझैँ वहाँ गर्ने गरिको हुन्न तर सबैले त्यस्तै देखाउँछन् मैले जे थियो यथार्थ त्यो देखाएकी हुँ । सबैभन्दा पहिला त म मानव हुँ र आँसु, रिस, खुसी, दु:ख, चिन्ता, सोच यी सबै मेरा मानवीय गुण हुन् यसलाई मैले बिर्सन सकिन । यसलाई लिएर कसैले पनि चित्त नदुखाउनु होला । मैले गरेका कुराहरु कसैलाई प्रहार गर्न होइन, कसैप्रति रिस राखेर पनि होइन, कसैसँग दुष्भाव रचेर होइन र कसैलाई नराम्रो देखाउन त झन हुँदै होइन । यो नितान्त मेरो भोगाइको पाटो थियो जसलाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकहरुले पहिलेनै आफूभित्र यी कुराहरु विकास गरेर आउनु पर्नेछ । यसलाई लिएर कसैको चित्त दु:खाइ छ भने म अन्तरआत्माबाट माफी चाहन्छु । म आफैँ कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो तर त्यो अवस्थाले हार खाइसकेको छ । म आज एक्लै निडर भएकी छु ।

फेरि पनि मबाट केहि त्रुटि भएमा माफी चाहन्छु । सदैव सबैको साथको आवश्यकता रहनेछ मेरो जीवनमा ।

एलिना

गायिका एलिना चौहानको फेसबुकबाट