• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

मुलुकको पश्चिम क्षेत्रको सम्भावनालाई राज्यले चिन्न सक्नुपर्छ: अध्यक्ष ढकाल



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पश्चिम क्षेत्रको सम्भावना र महत्वलाई राज्यले चिन्न सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल पश्चिमाञ्चल विकास मञ्चको आज यहाँ सम्पन्न साधारण सभाको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले साविकको पश्चिमाञ्चल क्षेत्रले नेपालको विशिष्ठ भौगोलिक पहिचान बोकेको र यहाँ धार्मिक, सामाजिक, बहुसांस्कृतिक, पर्यटकीय तथा विश्वकै सुन्दर र पवित्र स्थलहरु भए पनि तिनको सम्भावना र महत्वलाई बुझेर राज्यले नीति निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।

सो मञ्चका अध्यक्ष समेत रहेका अध्यक्ष ढकालले सो क्षेत्रमा विश्वका मानिसको आस्थाको धरोहर लुम्बिनीदेखि लिएर गण्डक तथा मुक्ति क्षेत्रको इतिहास समेटिएको तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व निकै रहेको भए पनि यो क्षेत्र बत्ती मुनिको अँध्यारोको अवस्थामा रहेको बताउनुभयो ।

यसै कारणले नै मुलुकको पश्चिम क्षेत्रको बहुआयामिक पक्षलाई राजधानीसम्म ल्याइ उजागर गर्ने र देशका नीति निर्माताहरुको ध्यानाकर्षण गराउने एवं यस क्षेत्रमा रहेका प्रतिभाहरुको पहिचान गराउने उद्देश्यले यो मञ्चको स्थापना गरिएको पनि बताउनुभयो ।

आफू जन्मेको माटो र आफूलाई जन्म दिने आमा यस धर्तीका सबैभन्दा प्रिय हुन् भन्दै अध्यक्ष ढकालले आफ्नो क्षेत्रको विकास र सम्बर्धनका लागि लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।
राजनीतिक संरचनाको हिसाबले मुलुक संघीय व्यवस्थामा भए पनि हाम्रो भावना हाम्रो पश्चिमाञ्चलसँग बढी जोडिएको छ भन्दै अध्यक्ष ढकालले मानिसका लागि सबैभन्दा ठूलो कुरा उसको पहिचान हुने र त्यो पहिचान आफ्नो जन्मस्थलले नै दिने बताउनुभयो ।

उक्त मञ्चको साधारणसभामा प्राडा जयराज आचार्यले नेपाललाई टेको लगाएका दुई वीर पुरुष पृथ्वीनारायण शाह र भानुभक्त आचार्य थिए भन्दै सो मञ्चलाई तनहुँमा भानुभक्तका स्मरणमा केही संरचना निर्माण गरी काम गर्न आग्रह गर्नुभयो ।

तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले सो मञ्चमार्फत् तनहुँलगायत मुलुकको पश्चिम क्षेत्रको विकासका लागि आफू पनि लागि पर्ने बताउनुभयो ।

मञ्चका उपाध्यक्ष मदन महत र महासचिव यादव भट्टराईले आगामी दिनमा यस मञ्च मार्फत् देशको पश्चिमाञ्चल विकास क्षेत्रका सम्भावनाहरुलाई उजागर गरी राजधानी काठमाडौँसम्म ल्याउने काममा सबै लाग्ने प्रण गर्नुभयो ।