• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

ओलीको प्रश्न: सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर प्रश्न उठ्न थाल्यो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर प्रश्न उठ्न थालेको बताउनु भएको छ ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेर सोमबार राती स्वदेश फर्कनु भएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संञ्चारकर्मीहरुसंग भन्नुभयो ‘सानोतिनो संलग्नताबाट क्विन्टल सुन विमानस्थलबाट भित्रिन सक्दैन यसमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर प्रश्न उठ्ने गरेको छ ।’

ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैको ध्यान अन्त मोड्न विभिन्न किसिमको प्रपञ्च गरिरहेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ?अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो । गृहमन्त्रीको कृयाकलाप गैर जिम्मेवार हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’

उहाँले भन्नुभयो ‘गृहमन्त्री गैर जिम्मेवार ढंगले बोल्दै हिड्नु भएको छ ,म उहाँलाई सचेत गराउन चाहन्छु । गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमीज हुनु एउटा कुरा हो । तर यो त हद भयो । गैर जिम्मेवार भयो, अनैतिक भयो । जथाभाबी बोल्ने गृहमन्त्री भएर जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ? अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने र?। ’