• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर टीभीले हटायो ‘इट्स माइ सो’ को विवादित क्लिप ★   आज मंगलबार, भगवान गणेशको पूजा–आराधना गरी दिन शुभ बनाउनुस् ★   युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेन भिड्दै ★   कांग्रेस–एमालेले सहमति : सार्वजनिक गर्न किन आनाकानी ? ★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

प्रवासी नेपालीले मनाए भानु जयन्ती



कोलकाता । भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।

नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बङ्गाल सरकारका सहकारीमन्त्री अरुप राय विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कुलपति राईले आफूले सानो हुँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताउनुभयो । उहाँले प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने जनाउनुभयो ।

प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेकोे जानकारी दिनुभयो । भानुभक्तको तस्बिरमा श्रद्धाञ्जलि दिएर सुरु भएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष नारायणप्रसाद होमागाईँलगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश–विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गर्नुभएको थियो ।

सो अवसरमा साहित्यका योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियोे भने समितिको प्रकाशन ‘बिहानी’को २४औँ अङ्कको विमोचन गरिएको थियोे । कविहरु धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्कीलगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गर्नुभएको थियोे । पछिल्लो समयमा बरालले नेपाली र कोलकाताका साहित्यकारबीच सेतुको कार्य गर्दै आउनुभएको छ ।

समितिका सभापति बद्रीविक्रम थापाले लामो समयदेखि यहाँ विभिन्न सेवा र व्यवसाय गर्दै आएका नेपालीभाषीहरूको सहयोग र समन्वय भानुभक्त जयन्ती र अन्य मानवीय सहयोगका कार्यक्रम हुँदै आएको जानकारी दिनुभयो । राष्ट्रिय विभूति भानुभक्तको जन्मदिन हरेक असार २९ गते परे पनि साताव्यापी जयन्ती मनाइन्छ ।

शनिबार रातिसम्म चलेको कार्यक्रममा युवा र विद्यार्थीहरूले नेपाली र हिन्दी गीतमा मनमोहक सांस्कृतिक नृत्य र प्रस्तुति गरेका थिए ।रासस