• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

हज समिति प्रति असन्तुष्टि बोकेर मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री-फोटो फिचर



काठमाडौं।नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन् ।

बुधवार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए । मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएका हजयात्रीहरुले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे । उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै एक हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताउनु भयो । उहाँले नेपालबाट गएका हजयात्रीहरु हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरु खोज्नसमेत नगएको बताउनु भयो । उहाँले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मक्का मदिनामा ४३ दिन पूरा गर्दा हामीले १२ सय जना जानुभएको थियो, पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन । गाडीको सुविधा पनि दिएन, सडेको चामल, मासु खुवाउँथ्यो, खाना खाने मानिस अस्पताल भर्ना भए, होटलमा पनि ट्वाइलेटमा राखेर प्लेट सफा गर्ने, स्प्रेले सफा गर्ने गरेर खाने खुवायो । नेपाल सरकारले पठाएका प्रतिनिधिहरुले उनीहरुले आफूले राम्रो गरे तर हाम्रो केही सहयोग गरेनन् । कति जना त तीन, चार दिनसम्म हराइ, नेपाल सरकारले पठाएका प्रतिनिधिहरु खोज्नसम्म गएनन् । हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राखियोस्, यो पार्टीगत नहोस्, हजमा नेपालको बदनाम गर्नेलाई कारबाही होस् । हज कमिटीको सबै सदस्यहरु दोषी हुन् ।’

उहाँले हज यात्रामा नेपालको प्रतिनिधि भइ गएका हज कमिटीका प्रतिनिधिहरुले नेपालको बद्नाम गरेकाले सबै दोषीहरुलाई कारबाही गर्न माग गर्नुभयो ।