• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी ★   रामेछापमा जुनारको जुस बिक्री बढ्यो ★   गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता



झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो ।

क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ ।

राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिनुभयो । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”

उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिनुभयो ।

सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्रा डा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताउनुभयो । झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो । रासस