• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

‘टेकनाथ रिजाललाई राम्रो ओढ्नेरओछ्याउने समेत दिइएको छैन’



काठमाडौँ । नक्कली भुटानी शरणार्थीको प्रकरणमा हाल थुनामा रहेका भुटानी नेता टेकनाथ रिजालको सुरक्षा र स्वास्थ्यप्रति भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले चासो व्यक्त गरेको छ ।

अभियानका संयोजक राम कार्कीले नेदरल्याण्ड्सको हेगबाट बिहीबार विज्ञप्ति जारी गर्दै नेता रिजाललाई बयान फेर्न उच्च तहका बन्दीहरुले दबाब दिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

रिजाललाई जेलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँगै जेलमा राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढेको पनि अभियानको विज्ञप्तिमा उल्लेख छ ।

“हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनु भएको छ र उहाँले बस्ने राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ”। विज्ञप्तिमा भनिएको छ ।

अभियानले ७६ वर्षीय रिजालमा मधुमेह, रक्तचाप र बुढेसकालसँग सम्बन्धित अन्य रोग देखिएको भन्दै अदालती बयानमा नाम लिएका कुनै पनि बन्दीहरूबाट टाढा तथा चिसो नभएको बेग्लै कोठामा रिजाललाई राख्न माग गरेको छ ।

रिजालसँग अनुमति लिएर मात्रै अपरिचित आगन्तुकहरुलाई भेट्ने व्यवस्था मिलाउन, रिजाललाई आवधिकरुपमा चिकित्सा जाँचको सुविधा दिन पनि अभियानले माग गरेको छ ।

साथै अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरुलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उनको स्वास्थ्य अवस्था बारे सोधपुछ गरिदिन पनि आह्वान गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये टेकनाथ रिजालसहित १६ जना पर्पक्षका लागि थुनामा पठाएको छ ।