• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका



डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । यसरी पढाइ छोड्नेमा छात्रा बढी छन् । उनीहरुका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ ।

यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कक्षा १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन् । कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञानलगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ ।

‘आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन’, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भन्नुभयो । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उहाँको भनाइ छ । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेको पाइएको छ । ३२ विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन् ।

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । करिब ५।५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको सङ्ख्या अत्यधिक छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफुसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुुहारले बताउनुभयो ।

‘रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ’, उहाँले भन्नुभयो, ‘छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ ।’