४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु
अ+ अ-

त्रिवेणी । फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।

मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ । “फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजनाअनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो”, उहाँले भन्नुभयो ।

नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वनजङ्गलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालैमात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वनजङ्गलमा सुकेका पात सङ्कलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन् । प्रतिकेजी पाँच रुपैयाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात सङ्कलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताउनुभयो । सङ्कलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुक्खा समयमा वनजङ्गलमा सुकेका पात सङ्कलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणपछि घरबाटै फोहर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । “फोहर वर्गीकरण गर्नेबित्तिकै कतिपयले कुहिने फोहर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहरमा कमी आएको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको करिब रु दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रममार्फत फोहर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ ।

कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताउनुभयो ।

फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ । समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताउनुभयो । योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्र्यानिक उत्पादनलाई समेत सहयोग पुर्याउने उहाँले बताउनुभयो ।रासस