४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकगायक रविन तामाङको अन्त्येष्टि आइतबार गरिने



अ+ अ-

काठमाडौं । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई आइतबार अन्त्येष्टि गरिने भएको छ ।

रविनको तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको शवलाई बिहान १० बजेदेखि १ बजेसम्म राखिने उनका व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए ।

रविनका दुई छोरीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लाग्ने भएकोले आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ ।

रविनको मंगलबार बेलुका बुढानिलकण्ठ–५ चिसेनीस्थित घरमा निधन भएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविनले विभिन्न चलचित्रमा अभिनय समेत गरेका थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । हिन्दी थ्रिलर वेब सिरिज ‘दि लास्ट आवर’मा समेत रविनको अभिनय रहेको छ ।