२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सर्वेक्षण सार्वजनिक, नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले घट्यो (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो । 

राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा.पुष्पकडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिवशिशिर कुमार ढुड्गाना, राजस्व सचिव रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सार्वजनिक भएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणको साराशं देहाय अनुसार यस्तो रहेको छ । 

कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक रहेका छन् । चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु.४२ खर्ब ६६ अर्ब ३२ करोड रहने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा आर्थिक गतिबिधिमा सुधार आएकोले स्वास्थ्य सङ्कटको अवस्थामा क्रमश: सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको  छ ।

साथै आर्थिक वर्ष २०७६/७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३-५ प्रतिशत भन्दा उच्च रहने अनुमान छ। यद्यपी चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण छ।

चालु आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमश : २.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान छ। त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ।

आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी ३०.४ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ। कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने अनुमान छ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान छ।

अन्य आर्थिक परिसूचक जस्तै चालु आर्थिक वर्षमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको  छ। चालु आर्थिक वर्षकोफागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ६.५ प्रतिशत रहेको थियो।

सार्वजनिक खर्च व्यवस्थापनमा गरिएका सुधारबाट अपेक्षित नतिजा हासिल भएका छन् । आर्थिक वर्ष २०७६र७७ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च रु.११ खर्ब ९१ अर्ब ६ करोड रहेको छ। एकीकृत खर्चमध्ये चालु खर्च ५६.० प्रतिशत, पुँजीगत खर्च ३४.१ प्रतिशत र वित्तीय व्यवस्था ९.९ प्रतिशत रहेको छ। 

यस अवधिमा सरकारबाट वित्तिय व्यवस्थापनका लागि चालिएका कदमहरुबाट वित्तिय अनुशासनको अवस्था सुदृढ हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.५ प्रतिशतले सुधार भई रु.२९अर्ब १६ करोड रहेको छ। आर्थिक वर्ष २०७६/२०७७ मा संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८.१ प्रतिशत रहेको थियो।

त्यसैगरी राजस्व परिचालन क्षमता सुदृढ भई चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले बढेर रु. ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ। 

यस अवधिमा सार्वजनिक ऋण र आन्तरिक ऋण परिचालन तथा उपयोग क्षमता अभिवृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म रु.१ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म रु. ७ अर्ब ४८ करोड अनुदान र रु. ८५ अर्ब २ करोड ऋण गरी जम्मा रु।९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ। त्यसैगरी यस अवधिमा ऋण तर्फ रु. ५० अर्ब ३८ करोड र अनुदानतर्फ रु. ९ अर्ब ७१ करोड गरी जम्मा रु।६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ।

अर्थतन्त्रमावित्तीय प्रगाढता निरन्तर बढ्दै गएको छ। २०७७ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको छ। चालु आर्थिक वर्षकोफागुनमहिनासम्म बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई रु. ४२ खर्ब ६० अर्ब ४७ करोड पुगेको छ भने कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई रु. ३८ खर्ब ४६ अर्ब ३१ करोड पुगेको छ। 

कोभिड-१९ का कारण सिर्जित प्रतिकूलता तथा नकारात्मक प्रभावबाट अर्थतन्त्र तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न नेपाल सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यन्वयन भइरहेको छ। कोभिड-१९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोग पुर्‍याउने उद्देश्यले यसै वर्ष शुरु गरिएको व्यवसायिक निरन्तरता कर्जा २०७७ फागुन मसान्तसम्म रु. २० करोड ८८ लाख प्रवाह भएको छ।

त्यसैगरी कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान बनाउन र समष्टिगत आर्थिक व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यअनुरुप कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ। ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ।

कोभिड-१९ को प्रतिकूल परिस्थितिकै अवधिमा पूँजीबजार तथा बीमा बजारको दायरा अभिवृद्धि हुनाका साथै उत्साहप्रद प्रगति हासिल भएका छन् । २०७६ फागुनमसान्तमा १,३७७.२ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७७ फागुनमसान्तमा २,४५८.५ बिन्दुमा पुगेको छ। त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.० प्रतिशतले वृद्धि भई रु.५ खर्ब २ अर्ब ७० करोड पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म रु. १ खर्ब २ अर्ब ४० करोड बीमाशुल्क सङ्कलन भएको छ।

प्रस्तुत अवधिमा बाह्य क्षेत्र तर्फ समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुलवस्तुपैठारी २.१ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ भने कुल वस्तु निकासी ७.८ प्रतिशतले वृद्धि भई रु. ८० अर्ब ७८ करोड पुगेको छ। आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा वस्तु निर्यात रु. ७४ अर्ब ९१ करोड रहेको थियो। 

चालु आर्थिक वर्षमा खुद ट्रान्सफर आय, पुँजी खाता र वित्तीय खाता बचतमा रहेका कारण शोधनान्तरस्थितिमा सुधार आएको छ। आर्थिक वर्ष २०७७/७८ को फागुन सम्मशोधनान्तर स्थिति रु.६८अर्बले बचतमा रहेको छ भने चालु खाता रु.१ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ। आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा शोधनान्तरस्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो भने चालु खाता रु.१ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो।

त्यसैगरी गत आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह रु.५ खर्ब ९१ अर्ब १९ करोड रहेकोमा चालु आर्थिक वर्षमा ८.६ प्रतिशतले वृद्धि भई रु.६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ। आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आय रु.८ खर्ब ७५ अर्ब ३ करोड रहेको थियो। साथै २०७७ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.१४ खर्ब १ अर्ब ८४ करोड रहेकोमा २०७७ फागुन मसान्तमा रु.१४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। यस सञ्चितिले ११.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने देखिन्छ।

चालु आर्थिक वर्षको यस अवधिमा देशको सामाजिक विकाशका सूचकहरु समेत उत्साहप्रद देखिएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्षको ०.५७९ को तुलनामा सुधार भई ०.६०२ पुगेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६६/७७ मा ३ लाख ७० हजार ७ सय ३४ सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजार ६ सय ३५ व्यक्तिले रोजगारी प्राप्त गरेकामा चालु आर्थिक वर्षको फागुनसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगारमध्ये ३३ हजार ७ सय ३३ व्यक्तिले रोजगारी प्राप्त गरेका छन्।

त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ४ लाख ४३ हजार ४ सय ६७ व्यक्तिलाई आंशिक र ४८ हजार ७ सय ८१ व्यक्तिलाई पूर्ण रोजगारी प्राप्त भएको छ।

नेपाल सरकारबाट सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमामा उत्साहजनक सहभागित हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म १३ हजार ५ सय २६ रोजगारदाता रु. १ लाख ९३ हजार ७२ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ब भएका छन् भने  हालसम्म रु. ४ अर्ब ६६ करोड १० लाख १५ हजार योगदान बापतको रकम उक्त कोषमा जम्मा भएको छ।

आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति, बालबालिका समेत गरी कुल जम्मा ३१ लाख ५० हजार १ सय ११ लाभग्राहीलाई सामाजिक संरक्षणका लागि रु.५८ अर्व ३८ करोड ६९ लाख ५५ हजार ९ सय ५९ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

सामाजिक क्षेत्र विकाशमा अपेक्षित नतिजा हासिल भएका छन् । शैक्षिक वर्ष २०७७ मा प्राथमिकतह,आधारभूत तह रमाध्यमिक तहको खुद भर्नादर क्रमश: ९७.४, ९४.७ र ५१.२ प्रतिशत रहेको छ। २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या ९१.५ प्रतिशत र उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म थप १ लाख ५५ हजार ८ सय ८ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका छन्। 

यस अवधिमा पूर्वाधार तथा प्रविधिको विकास उल्लेखनीय रहनकासाथै आम नागरिकहरुको पहुँच अभिवृद्धि भएको छ । २०७७ फागुनसम्म राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत उत्पादन गत वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भई १४५८ मेगावाट पुगेको छ। प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट घण्टा पुगेको छ भने ९३.० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। त्यसैगरी २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५९७४ किलोमिटर, खण्डाश्मितड ५८२ किलोमिटर र कच्ची सडक ८९७२ किलोमिटर गरी ३३५२८ किलोमिटर सडक निर्माण भएको छ। 

गत आर्थिक वर्षमा टेलिफोन घनत्व र ईन्टरनेट ग्राहक घनत्व क्रमश: १२६.७ र ७३ प्रतिशत रहेकोमा २०७७ को फागुनसम्म क्रमश: १३०.३ र ८२.८ प्रतिशत पुगेको छ । सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत् नागरिकलाई सहजरूपमा सेवा पुर्‍याउन नागरिक एप्स सञ्चालनमा ल्याइएको छ।

भूकम्पपछिको पुनर्निमाणको कार्यमा उत्साहजनक प्रगति हासिल भएको छ । काठमाडौँको ऐतिहासिक धरोहरको रूपमा रहेका धरहरा, रानीपोखरी रदरवार हाइस्कूल लगायतका महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । २०७७ फागुनसम्म भूकम्पबाट क्षति भएका निजी आवास ७२.९ प्रतिशत, सार्वजनिक विद्यालय ८२.७ प्रतिशत,  पुरातात्विक सम्पदा ५३.३ प्रतिशत, स्वास्थ्य संस्था  ५८.३ प्रतिशत, सरकारी भवन ८५.३ प्रतिशत र सुरक्षा निकायका भवन ५३.३ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।