काठमाडौं । यातायात व्यवस्था विभागले गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण उपलब्ध गराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत गठित क्षति मूल्याङ्कन समितिले सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम, निजी संघ–संस्था, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आमनागरिकसँग बाढीबाट भएको क्षतिसम्बन्धी तथ्याङ्क माग गरेको हो।
माननीय भौतिक पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा भदौ २६ गते यातायात व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा बसेको बैठकको निर्णयअनुसार क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार निर्धारण तथा अन्य सम्बन्धित विषयमा राय–सुझावसहित प्रतिवेदन तयार गर्न समिति गठन गरिएको विभागले जनाएको छ।
समितिको भदौ ३१ गतेको निर्णयअनुसार सम्बन्धित पक्षले सात दिनभित्र क्षतिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउनुपर्नेछ।
विभागका अनुसार क्षतिको विवरण bibhagyatayat@gmail.com मा इमेलमार्फत वा यातायात व्यवस्था विभागको योजना शाखामा लिखित रूपमा बुझाउन सकिनेछ।
संस्था वा निकायको तर्फबाट तथ्याङ्क उपलब्ध गराउँदा संस्थाको पहिचान खुलाउन तथा सम्भव भएसम्म तथ्याङ्कको स्रोतसमेत उल्लेख गर्न विभागले अनुरोध गरेको छ।
बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण संकलन गरी त्यसका आधारमा क्षतिको मूल्याङ्कन र क्षतिपूर्तिको आधार तय गर्न तथ्याङ्क संकलन गरिएको समितिले जनाएको छ।









