• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

नारायणगढ-मुग्लिन सडकको विकल्पमा चार सम्भावना



फाईल फोटो

काठमाडौँ । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढदेखि मुग्लिन सडकको विकल्प खोजिन थालेको छ । त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन् । तीनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ ।

एउटा विकल्पमा पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुंगा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारी तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ । त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिलेको सिंगल ट्रयाक खालेर काम अघि नबढाई रोकिएको भण्डारादेखि मलेखु सडक छ ।

तेस्रोमा नारायणगढदेखि मुग्लिन सडकमै पर्ने घुमाउनेमा त्रिशूली नदीमाथि अलपत्र पारेको पुल बनाउन सके मात्रै पनि नारायणगढबाट पोखरा जाने बाटो खुल्ने र विकल्प बन्नेछ ।

सडक विभागले डिभिजन कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिइसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले अहिलेको सडकपारी त्रिशूली किनारैकिनार तनहुँतर्फ नयाँ सडढक बनाउन सकिने गरी गृहकार्य सुरु भएको जानकारी दिनुभयो ।

‘पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुंगा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य हुँदैछ’, उहाँले भन्नुभयो ।

सुरुमा नयाँ सडक बनाउनुपर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिलेको त्यो निर्णयका प्रस्ताव मन्त्रिपरिषदमा लैजान टिप्पणी तयारीको काम भइरहेको उहाँले बताउनुभयो । उक्त टिप्पणी सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषदको बैठकमा प्रस्तुत गरिनेछ ।

मन्त्रिपरिषदबाट निर्णय भएलगत्तै नयाँ सडक निर्माणका लागि परियोजनाको विस्तृत अध्ययन डिपिआर बनाउने, स्रोतको खोजी गरी योजना निर्माणका लागि प्रक्रिया अघि बढ्नेछ ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुंगासम्मको १६ किलोमिटर अहिले पनि कालोपत्रे सडक नै छ । अब दासढुंगादेखि मुग्लिनसम्मको २० किलोमिटर सडक बनाउने हो भने नारायणगढदेखि मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका विभागीय प्रमुख प्राडा खुमनारायण पौडेलले त्रिशूलीपारी नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था पनि एउटै चट्टानको स्वरुप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताउनुभयो ।

उहाँले नारायणगढदेखि मुग्लिन सडकमा पहिरो मात्रै काटेरभन्दा पनि साना साना सुरुङ बनाएर सडक बनाउन सक्ने हो भने पहिरोको जोखिम कम हुने बताउनुभया । यसका साथै चितवनकै शक्तिखोरबाट पृथ्वीराजमार्गको माझिमटार निकाल्ने गरी सुरुङमार्गको पनि सडक विभागले अध्ययन सुरु गरेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।