• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

तनहुँमा ६७ जातजाति, ४१ मातृभाषा



दमौली । तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् ।

विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले २०६८ सालको जनगणनामा जिल्लामा ६० जातजाति रहेका जानकारी दिनुभयो । जिल्लामा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बरामलगायतका जातजाति गणनाका क्रममा पहिचान भएको उहाँले बताउनुभयो ।

तनहुँको कूल जनसङ्ख्या तीन लाख २१ हजार एक सय ५३ छ । यसमा महिला एक लाख ७१ हजार ५९ र पुरुष एक लाख ५० हजार ९४ रहेका छन् । सबैभन्दा बढी मगरको सङ्ख्या रहेको छ । तथ्याङ्क अनुसार मगरको जनसङ्ख्या ८३ हजार छ सय ३९, क्षेत्री ३६ हजार आठ सय ३३, ब्राम्हण ३६ हजार छ सय ७२ र गुरुङ ३५ हजार एक सय ८४ रहेका छन् ।

सबैभन्दा कम राजपुतको जनसङ्ख्या नौ रहेको छ । त्यस्तै कायस्थ ११, कोचे १२, लोहरुङ १३, धिमाल १३, भूमिहार १४ र छन्त्यालको जनसङ्ख्या १५ रहेको बस्यालले जानकारी दिनुभयो ।

तनहुँमा ४१ मातृभाषा पहिचान भएका छन् । विसं २०६८ को जनगणना अनुसार २८ मातृभाषा रहेकामा एक दशकको अवधिमा १३ मातृभाषा थपिएका छन् । सबैभन्दा बढी बोल्ने नेपाली (६२.७ प्रतिशत) रहेका छन् ।

छ पालिकाको जनसङ्ख्या ऋणात्मक
सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाका दश पालिकामध्ये छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर माइनस ०.७४, भानु नगरपालिकाको माइनस ०.६५, भिमाद नगरपालिकाको माइनस ०.६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ जनसङ्ख्या छ ।

यस्तै शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या वृद्धिदर १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाको ०.६६ प्रतिशत छ । आँबुखैरेनीमा २२ हजार दुई सय ५२, बन्दीपुरमा १८ हजार पाँच सय ३२, भानुमा ४२ हजार सात सय ९४, भिमादमा २९ हजार दुई सय ४८, व्यासमा ७८ हजार नौ सय ३९, देवघाटमा १४ हजार पाँच सय ८४, घिरिङमा १४ हजार तीन सय ३४, म्याग्देमा २३ हजार पाँच सय ७८, ऋषिङमा १७ हजार नौ सय १८ र शुक्लागण्डकीमा ५५ हजार छ सय २० जनसङ्ख्या रहेको छ ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जनगणनाको तथ्याङ्कमा आधारित रहेर जिल्लाका स्थानीय तहले विकासका योजना तर्जुमा गर्नुपर्ने उल्लेख गर्नुभयो । रासस