२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ : नेपालमा आफ्नो सेवाको सुरुवातअघि दश जना पिस कोर रेस्पोन्स स्वयंसेवकले पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर, अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् । नेपालमा सेवा गर्ने यो हालसम्म कै पहिलो रेस्पोन्स स्वयंसेवक समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमले नेपाल सरकारद्वारा पहिचान गरिएका अल्पकालीन (जस्तै, नौदेखि बाह्र महिना) अवधिका तर उच्च प्रभाव हुने सेवा कार्यहरू सम्पन्न गर्नप्रति लक्षित अनुभव भएका अमेरिकी नागरिक स्वयंसेवकहरू भित्र्याउँछ ।

यी नयाँ रेस्पोन्स स्वयंसेवकहरूले तीन क्षेत्रमा सेवा गर्नेछन् – गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने, बागमती र गण्डकी प्रदेशमा सरकारी विद्यालयका सूचना प्रविधि तथा ई-सिकाइ पहलहरूलाई टेवा पुर्‍याउने र गण्डकी तथा लुम्बिनी प्रदेशमा कृषि कलेजहरूका शोधसम्बन्धी क्रियाकलापमा सुधार ल्याउने । रेस्पोन्स स्वयंसेवकहरूले स्थानीय रूपमा प्राथमिकतामा परेका र सम्बन्ध निर्माण गर्ने, ज्ञानको आदानप्रदानलाई बढवा दिने र दिगो तथा मापनीय प्रभाव पार्ने परियोजनाहरूमा आफ्ना आतिथेय संस्था र सामुदायिक सदस्यहरूसँग सहकार्य गर्नेछन् ।

“यो पिस कोर रेस्पोन्स कार्यक्रमको सुरुवात हो जुन कार्यक्रमअन्तर्गत बढी अनुभवी अमेरिकी नागरिक स्वयंसेवकहरूले नेपाल सरकारमा रहेका हाम्रा साझेदारहरूद्वारा अभिव्यक्त निश्चित आवश्यकताहरूलाई सम्बोधन गर्नेछन्,” राजदूत थम्पसनले भन्नुभयो । परम्परागत दुई-वर्षीय स्वयंसेवक कार्यक्रममा जस्तै, पिस कोर रेस्पोन्स स्वयंसेवकहरू पनि आफ्ना समुदायमा समायोजित हुनु, सम्बन्ध निर्माण गर्नु र नेपालमा अमेरिकाका अनुकरणीय प्रतिनिधि बन्नु आवश्यक छ ।

यी दश रेस्पोन्स स्वयंसेवकहरू सन् १९६२ मा नेपाल र अमेरिकाका सरकारहरूले नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेयता नेपालमा सेवा गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिनेछन् । यो नयाँ समूहसँगै, हाल नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकको कुल सङ्ख्या ५० पुगेको छ ।