• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र



काठमाडौँ । पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो ।

आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’ नगरी शिलान्यास गरिएको स्थानीय रवि ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । शिलन्यास गर्दादेखि यस स्थानमा आकाशे पुल निर्माण उपयुक्त नहुने भनी आवाज उठाएकामा सुनुवाइ नहुँदा निर्माण अलपत्र भएको उहाँको भनाइ थियो । ढुङ्गेलका अनुसार चुनावी वर्षमा सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले पैदल यात्रु अप्ठ्यारोमा पर्ने गरेका छन् । “पुलका लागि आधा फलाम ठड्याएर अलपत्र छोड्दा पैदल यात्रु हिँड्दा समस्यामा पर्न थालेका हुन्”, उहाँले भन्नुभयो ।

महानगरपालिका निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सन लाइन नहटेकाले काम पूरा गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि विभागले ठेक्का गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं ७ को कार्यालयअगाडि नै निर्माण सुरु गरिएको उक्त पुल वर्षौंदेखि अलपत्र बनेको छ । पुलको डिजाइनमा केही परिवर्तन गरेर काम अगाडि बढाउने गरी माग गरिएको अध्यक्ष विमलकुमार होडाले जानकारी दिनुभयो । उहाँका अनुसार वडाले अपाङ्गता भएका व्यक्तिलाई पनि सहज हुने गरी पुलमा लिफ्ट राख्नुपर्ने प्रस्ताव गरेको छ । “हाइटेन्सन लाइन हटाउन महानगरपालिकाले पैसा दिन्छु भनिरहँदा नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छैन”, उहाँले भन्नुभयो ।

मित्रपार्क चोकमा निर्माणाधीन आकाशेपुल सम्पन्न भए दैनिक पशुपतिनाथ मन्दिर आवतजावत गर्ने धेरै भक्तजन तथा पैदल यात्रुलाई सहज हुने स्थानीयको भनाइ छ । वर्षौंदेखि अलपत्र बनेको पुल निर्माणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मैना भण्डारीले गुनासो गर्नुभयो । “नियमित काम गरे एक हप्तामा सकिने यस्ता काममा वर्षौं बित्दासमेत सरोकारवाला निकायको ध्यान नजानु दु:खद् हो”, उहाँले भन्नुभयो, “पुल समयमै सम्पन्न भए पैदल यात्रुका कारण हुने सवारी जाम केही भएपनि व्यवस्थित हुने थियो ।” रासस