२१ भाद्र २०८३, आईतवार
,
Latest
सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड



अ+ अ-

लिस्बन । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औँ मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । स्पेनको राजधानी म्याड्रिडमा फिफ्टी टप पिज्जाले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

युरोपमा प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १२औँ पिज्जेरिया’ र विश्वभरका नापोलितान पिज्जामध्ये ‘विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरिया’ मा पर्न सफल भई आफ्नो रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको रेष्टुराँका सञ्चालक सापकोटाले जानकारी दिनुभयो ।

“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुराँले विदेशीसँगको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दा अत्यन्तै खुसी र गौरवान्वित भएको महसुस गरेको छु, यो सफलताले नेपाल र नेपालीको गौरव बढाएको अनुभूति गरेको छु”, सापकोटाले भन्नुभयो । परिवारको साथ, सहयोग र रेष्टुराँमा कार्यरत सबै कर्मचारीको कडा मेहनत र परिश्रमले यो सफलता प्राप्त भएकोे सापकोटाले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को)ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । त्यसमा सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ । करिब २७ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आउनुभएका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याउनुभएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गर्नुभएको थियो ।

उहाँ इटालियन खानामा प्रदर्शन गर्नुभएको कला, कौशल र प्रतिभाकै कारण दर्जनौँ पुरस्कारसमेत प्राप्त गर्न सफल हुनुभएको छ । उहाँ सन् २०१६ मा पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी घोषित हुनुभएको थियो । सापकोटाको रेष्टुराँ सन् २०२३ मा समेत उत्कृष्ट १६औँ मा पर्न सफल भई ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ बाट पुरस्कृत भएको थियो ।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालार्ई ‘एकमहिने नि:शुल्क खाना अभियान’ सञ्चालन गरेर नि:शुल्क खानासमेत खुवाउनुभएको थियो ।रासस