• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल

बालुवाटारको १४३ रोपनीमध्ये कर्मचारीलाई साढे २२ रोपनी घुस



फाईल फोटो

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको छ । प्रहरीका अनुसार १० कर्मचारी र दुई बिचौलियाले जग्गा बकसका रुपमा घुस लिएको आजको नयाँ पत्रिकामा समाचार छ

सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागजपत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी सुवर्णशमशेर राणाका परिवारको नाममा लगिएको थियो । यसरी जग्गा फिर्तामा सहयोग गर्नेलाई राणा परिवारले घुसबापत जग्गा बकस दिएका थिए । सुवर्णशमेशरका परिवारले समेत यसको पुष्टि गरेका छन् ।

गत मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि राणासँग बक्सिसमा जग्गा लिनेमध्ये एक हुन् । उनले पाँच रोपनी दुई पैसा दुई दाम जग्गा श्रीमती उर्मिला शाहको नाममा लिएका थिए, जुन पछि बिक्री गरिसकेका छन् ।

उनीबाहेक मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङ, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्मप्रसाद गौतम, नासु जगत पुडासैनी र डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजाले पनि जग्गा लिएका छन् । त्यस्तै, डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्तप्रसाद श्रेष्ठ र समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेलले पनि जग्गा बकसका नाममा घुस लिएका छन् । उनीहरूमध्ये मुकुन्द आचार्य तथा युक्तप्रसादको मृत्यु भइसकेको छ । बिचौलियाद्वय रामकल्याण अधिकारी र रामकनाथ घिमिरे पनि यसरी जग्गा लिएका थिए ।

कर्मचारीहरू सबैले आफन्तको नाममा जग्गा लिएका छन् । सिआइबीले जग्गा बकस लिनेहरूको बयान लिइसकेको छ । जसक्रममा धैरेले राणा परिवारसँग जग्गा बकस लिने निकटता नभएपछि परिवारको आग्रहमा आफ्नो नाममा पास भएको बयान दिएका छन् ।

मालपोत विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा एक रोपनी लिएका छन् । प्रेमबहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा लिएका छन् ।

त्यतिवेला अधिकृत रहेका र पछि सहसचिवबाट अवकाश पाएका गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंको नाममा १० आना लिएका छन् । केही जग्गा सुधीर शाहपत्नी उर्मिला र भुवनकुमारीको नाममा संयुक्तसमेत भेटिएको छ । मालपोत अधिृकत धर्मराज गौतमले सालीका छोरा मोहनप्रसाद भट्टराईको नाममा खिमा र शशिकला सुब्बासँग संयुक्त रूपमा लिएको प्रमाण प्रहरीले फेला पारेको छ ।

जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंका नाममा चार रोपनी दुई आना लिएका थिए । कलाधर देउजाले साढुभाइ इन्द्रबहादुर थापाको नाममा लिएका थिए । उनले मिठुदेवी चापागाईंसँगको संयुक्त नाममा पास गरेका विवरण छ । सुरेन्द्रमान कपालीले पनि भतिजा बुहारी शान्तिदेवी प्रधानांगको नाममा मिठुदेवीसँगै संयुक्त रूपमा जग्गा लिएका थिए ।

युक्तप्रसाद श्रेष्ठले बहिनीको नाममा एक रोपनी १३ आना तथा श्रीमती सरस्वतीको नाममा मिठुदेवीसँग संयुक्त रूपमा लिएका थिए । समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा १४ आना बकस पाएका थिए । बिचौलिया रामल्याण अधिकारीले दुई रोपनी १२ आना तथा रामनाथ घिमिरेले तीन रोपनी चार आना लिएका थिए । उनीहरूमध्ये घिमिरेको भूमाफिया तथा कर्मचारीसँगको सम्बन्ध प्रहरीले पत्ता लगाउन सकेको छैन । उनी फरार छन् । उनीहरू मालपोतका साक्षीसमेत बसेको खुलेको छ ।

यसरी घुसबापत जग्गा लिनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धानको दायरामा ल्याएपछि मुद्दा भने नचलाउने निर्णय गरेको थियो । तर, प्रहरीले भने सम्बन्धित कर्मचारी तथा आफन्तलाई समेत मुद्दा चलाउने तयारी गरेको छ ।