६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो: सीआईबी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन् ।

आज सार्वजनिक हुनेमा काठमाडौँ महानगरपालिका–६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौँ महानगरपालिका–७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का ६० वर्षीय गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का ६८ वर्षीय सुधीर शाह छन् ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजङ्ग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन ।”

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो । सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आइसकेपछि ब्यूरोले अनुसन्धानमा ठूलो मेहनत गरेको उहाँको भनाइ छ । रासस