१५ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल उपमहानगरमा ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ कार्यक्रम



अ+ अ-

रुपन्देही । ‘समानता, स्वाभिमान र अवसरः बस्नयोग्य बुटवल सहर’को ध्येय प्राप्त गर्ने गरी बुटवल उपमहानगरपालिकाले आज बजेट पेस गरेको छ ।

स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउन स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएर रु दुई अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट उपमहानगरले विनियोजन गरेको हो ।

बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउन र ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ को नीतिलाई प्रभावकारी बनाउन नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

नगरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिका–१३ र १७ मा १५/१५ शय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । यसका लागि रु दुई करोड छुट्याइएको छ । वडा नं १३ मा सञ्चालन हुने अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबिसै घण्टा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगरप्रमुख आमा सुरक्षा कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

नगरप्रमुख घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत परिवारको स्वास्थ्य जानकारी समेटिने डिजिटल रुपमा पारिवारिक स्वास्थ्य डाटा सङ्कलन गर्दै सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवाका लागि पनि बजेट छुट्टयाइएको छ ।

नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही रु दुई हजारका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

यस्तै अठार वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु तीन हजार दिने व्यवस्था मिलाइएको छ ।

स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवद्र्धक जडीबुटी वितरण कार्यक्रम सञ्चालन गर्ने तथा नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही रु १७ हजार दिइने राहत अनुदानलाई निरन्तरता दिइने उपप्रमुखले अर्यालले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सुविधा र सम्मान कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, कोभिड–१९ जस्ता महामारी तथा नियमित खोप सञ्चालन, एचआई भी÷एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले, डेङ्गु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका रोगहरुको रोकथाम, नियन्त्रण तथा निवारणका आवश्यक पनि बजेट विनियोजन गरिएको छ ।

स्थानीय पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै बुटवलको पहिचान, जातीय पहिचान, भाषा, संस्कृतिको संरक्षण गर्न आवश्यक बजेटको प्रबन्ध गरिएको छ भने सामुदायिक विद्यालयमा अध्ययनरत भौगोलिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोसाकको व्यवस्था गर्न बजेट छुट्याइएको छ ।

यस्तै लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाइ, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कका रूपमा विकसित गरिने छ भने बस टर्मिनलभित्र पार्किङ भवन, व्यावसायिक कोसेली भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने तथा नगरक्षेत्र भित्रका सडकहरुमा आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ ।

बुटवलको खानेपानी आपूर्तिसम्बन्धी समस्यालाई दीर्घकालीन समाधान गर्न बोरिङ, ओभरहेड ट्याङ्की निर्माण, स्यालो ट्युबेलका लागि आवश्यक बजेट विनियोजन गर्नाका साथै जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध सङ्ग्रहालयजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गरिने कुरा बजेटमा उल्लेख छ ।

वडा नं १५ मा ज्येष्ठ नागरिक मैत्री पार्क निर्माण, घरनक्साहरु डिजिटाइजेसन गर्न, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमा रहेका लालपुर्जाविहीन घरहरुको सूचीकृत गर्न र जग्गा नापजाँच तथा हाल साबिक गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

यसैगरी, न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न र विवादरहित, हिंसारहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना र नयाँ मेलमिलापकर्ता थप गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकाका जनतामा सूचनाको पहुँच बढाउन, सम्बद्ध सूचना तथा तथ्याङ्कलाई एकीकृत र व्यवस्थित गर्न डाटा बैंकको स्थापना गर्न, नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार फ्री वाइफाइ र आइपिटिभी जडान गर्न, वेबसाइट, मोबाइल एप, डिजिटल डिस्प्ले र च्याटबट निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

बजेटमा अव्यवस्थित रूपमा छरिएका ठेला गाडी व्यवस्थापन गरी रात्रिकालीन बजार सञ्चालन गरिने पनि उल्लेख छ ।

बुटवलभित्रका सबै गृहिणीलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि रु तीन करोड विनियोजन गरिएको छ भने मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

महिलाहरुलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । त्यस्तै आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक, लोपोन्मुख समुदाय, असहाय, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समाजमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई मूल प्रवाहमा ल्याउने गरी क्षमता विकासको कार्यक्रम पनि सो बजेटमा छ ।

एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिले सञ्चालन गर्ने इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइने कार्यक्रम पनि बजेटमा छ । रासस