२६ श्रावण २०८३, मंगलवार
,
Latest
सरकारी उद्योग मात्र चलाउने र निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने नीति मान्य हुँदैनः अध्यक्ष… अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो



तस्बिर: रासस । फाईल फोटो
अ+ अ-

बलेवा । बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् ।

यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्र्यउन थालेको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताउनुभयो ।

यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । “अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको छ, एक दिनमा एउटा मात्रै बारीको पाटो खनेर सकिन्छ,” उहाँले भन्नुभयो, “यस वर्ष आलु राम्रो फलेको छ ।” आलुको फसल लिँदै गरेका किसान खुसी छन् । यहाँ उत्पादन भएको आलु देशका अधिकांश सहरमा पुगे पनि किसानको हातमा भने मूल्य कम आउने गरेको पुनको गुनासो छ ।

ताराखोलाको आलुको अहिले गण्डकी प्रदेश मात्रै होइन्, देशको ठूलो सहर काठमाडौँमासमेत चर्चित छ । किसानको मुख्य आम्दानीको रूपमा रहेको आलुको माग बढेसँगै आलुखेतीमा किसानको आकर्षण बढ्न थालेको छ ।

यस गाउँपालिकामा गत वर्ष मात्र रु सात लाख १२ हजार पाँच सय ६८ किलो आलु उत्पादन भएको कृषि शाखाको तथ्याङ्क छ । यो वर्ष उत्पादन अझै बढ्ने अपेक्षा छ । आलुका लागि बजार सजिलै पाइने भएकोले किसानले हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–५ वडाध्यक्ष मनबहादुर रोकाले बताउनुभयो ।

यहाँका किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । पछिल्लो समय किसानले आलुको बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

खाद्यान्नबाली कम फल्ने भएकाले यहाँका किसानले आलुको बिक्रीबाट आएको पैसाले खाद्यान्न खरिद गरेर गर्जो टार्नाका साथै बँचेको पैसाले घरखर्च पनि चलाउँछन् ।

आलुबाट चिप्स बनाउने उद्योग पनि ताराखोलामा केही वर्ष अघिदेखि सञ्चालनमा छ । उक्त उद्योगलाई व्यवस्थित गरेर लैजान र किसानलाई व्यावसायिक बनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाको ढोर, काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनीको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रिवन पनि आलुका लागि प्रख्यात ठाउँ हुन् । ताराखोलाको आलु प्रतिकिलो रु ४० र एक पाथीको रु दुई सयमा बिक्री हुँदै आएको स्थानीय किसान शर्मिला रोका मगरले बताउनुभयो । रासस