२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा सुरक्षा पोष्ट राख्न अनुमति दिइएको छैन: गृहमन्त्री



तस्बिर: रासस
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रतिप्रश्नको जवाफमा उहाँले सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उहाँले सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने जानकारी दिँदै अर्थतन्त्रमा देखा परेका केही समस्याका कारण आवश्यक सङ्ख्यामा बिओपी भवन बनाउन तत्काल जटिलता रहेको बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षाका लागि परिचालन भएको भए पनि बसोबासका लागि राम्रो व्यवस्था नभएका कारण प्रभावकारी रुपमा परिचालन गर्न कठिनाइ भएको स्वीकार गर्नुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उचित बसोबासको प्रबन्धका लागि समेत सरकार दत्तचित्त भएर लागेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रतिजासुसी संयन्त्रका बारेमा कुनै औपचारिक छलफलमा प्रवेश नगरेको जानकारी दिँदै उहाँले अनौपचारिक रुपमा भने बेला बेलामा छलफल भएको उल्लेख गर्नुभयो । नियोजित रुपमा धर्म प्रचार र परिवर्तनका सन्दर्भका केही कारबाही भएको जानकारी दिँदै उहाँले धर्म परिवर्तनका सन्दर्भमा सरकार गम्भीर रहेको बताउनुभयो ।

सहकारी पीडितको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालयको कोठामा भरिएको जानकारी दिँदै सो समस्या समाधानमा सरोकारवाला मन्त्रालयकोसमेत पहलमा आवश्यक निर्णय लिइने जानकारी दिनुभयो । सिआइबीको नयाँ भवन नभएका कारण काम कारबाहीसमेत प्रभावित भएकाले नयाँ भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको उहाँको भनाइ छ ।

ट्राफिक प्रहरीको स्वास्थ्य अवस्था र काममा सहजताका लागि थप प्रोत्साहनको प्रबन्ध गरिएको, सुरक्षा निकायमा योग र ध्यानलाई नियमित गराउन लागिएको उहाँले बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुल्ला रहेको र दोषीमाथि कारबाही हुने उहाँको दाबी छ । यस्तै, विगतका आर्थिक अनियमितता र भ्रष्टचारमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने तथा कोही कसैलाई पनि नछाडिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दैनिक जनजीवन चलाउने सामग्री सीमा नाकाबाट ल्याउनका लागि भन्सार नाकामा सहज बनाइएको भए पनि चोरी निकासी भने पूर्ण रुपमा नियन्त्रण गरिने उहाँको भनाइ छ ।

सरकारले गाँजालाई औषधिजन्य उपयोगका लागि अध्ययन अगाडि बढाउने विषयलाई सरकारको नीति तथा कार्यक्रममा राखिएको भए पनि नयाँ कानुन नबन्दासम्म विद्यमान कानुन नै कार्यान्वयन हुने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालय मातहत ल्याउन प्रधानमन्त्रीसँग छलफल भइरहेको सदनलाई जानकारी दिनुभयो । रासस