२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित नगर्ने



अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् ।

नेकपा(एकीकृत समाजवादी)का सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन् । बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनु भयो । उहाँले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनु भयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरु सबैले कडाइका साथ कुरा उठाउनुभएको छ । र यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न भन्ने खालको कुरा सबै साथीहरुले बताउनुभएको छ । यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ, तपाईले प्रधानमन्त्री, अर्थमन्त्रीहरुलाई समय राख्नुस् ।

अझ अर्को कुरापनि साथीहरुबाट सुझाव आएको छ, गठबन्धनमा रहेका सबै दलहरुका बीचमा छलफल गरेर, साझा ढंगले बसेर छलफल गर्नुस् भन्नेखालको कुरा भएको छ । अहिले भर्खरै अर्थमन्त्रीसँग पनि सम्पर्क भएको छ । दुई दिन अगाडी मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु, यथास्थितिमा यो बजेट पारित हुँदैन । यसमा परिवर्तन गरेर, असन्तुलन भएको कुरालाई सन्तुलित बनाएर मात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने खालको कुरा आएको छ ।’

उहाँले बजेटकै कारण सत्ता समिकरण भने नटुट्ने बताउनु भयो । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उहाँको भनाई छ । आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बजेट बनाउनु नहुने उहाँले बताउनु भयो ।