७ मंसिर २०८१, शुक्रबार
,
Latest
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश मन्त्रीपरिषद् निर्णय: ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने ! ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।”

उहाँले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई आफूले सधँै उच्च मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । “मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको हो । मानव र अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ”, प्रधानमन्त्रीले भन्नुभयो, “अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाइँहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ ।”

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि आफैँभित्र सबैभन्दा पहिला सुशासन सुरुआत गर्नुपर्दछ ।”

प्रधानमन्त्री दाहालले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभाव पार्ने बताउनुभयो ।

कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढङ्गले आफ्नो काम अझ प्रभावकारी तवरले गर्दै परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले जुनसुकै क्षेत्रको पनि विकास र प्रगति सही विचारबाट नै हुने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कार्यक्रमको उपादेयताका बारेमा जानकारी गराउँदै यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो । रासस