२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताउनुभएको छ ।

आईतवार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताउनुभएको हो । उहाँले सो मोर्चा वैचारिक मोर्चा हुने बताउनु भयो । उहाँले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वभाविक भएको बताउनु भयो । उहाँले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरुलाई समेट्दै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरुलाई मिलाएर लानु पर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ । त्यसमा सहमत भएका पक्षहरुलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो–जो सहमत हुनुभएको छ, उहाँहरु आउनु हुनेछ । देशभक्तहरु एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन ? लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? वाम शक्तिहरु एक ठाउँमा हुनु, समाजवादी शक्तिहरु एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? अर्थात् निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वभाविक ठान्नुपर्दछ । र खुशी हुनुपर्दछ । त्यसैले हामीले समाजवादी शक्तिहरुलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ । जम्मा गरेका छौँ । पहल लिएका छौँ । सक्रियता देखाएका छौँ । यसबाट चिन्तित हुनुपर्ने, आफ्नो बिरुद्धमा कदम चालेको नकारात्मक रुपमा लिनुपर्ने कसैले पनि आवश्यकता छैन ।’