• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

पानी अभावले रोपाइँ गर्न ढिलाइ



भजनी । कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुनुहुन्थ्यो । आकाशे पानीको भरमा खेती गर्दै आउनुभएका उहाँ यस वर्ष भने फुर्सदमा हुनुहुन्छ । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ ।

‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक डेढ महिना भइसकेको छ’, चौधरी भन्नुहुन्छ, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’

यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् । भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन् ।

भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गर्नुभएको छ । सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बस्नुभएका उहाँ पानीको पर्खाइमा हुनुहुन्छ ।

‘अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन”, चौधरीले भन्नुभयो, “यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।’

गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आउनुभएको छ । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउनुहुन्छ ।

‘सबैले खेत जोत्ने काम गरिसकेका छन् । कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ ।’ लक्ष्मण भन्नुहुन्छ, ‘गाउँमा हामी सबै किसान छौँ । आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन । त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ ।’

भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । कृषिका लागि महत्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन । चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ । जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन । किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो । बर्सातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ । कैयौँ वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ ।

‘सिँचाइको समस्या छ । बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन ।’ स्थानीय कलशराम डङ्गौरा भन्नुहुन्छ, ‘सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन ।’

वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पु¥याएको छ । किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउनुहुन्छ । ‘पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो । भित्र्याउन कठिन हुने थियो । यस वर्ष मौसमले साथ दिएको छ ।’ उहाँले भन्नुभयो, ‘मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ ।’

भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन् । बर्सातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ । फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइनभ्याइ छ । बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले दुई पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन् । बाढीले क्षति नपु¥याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ ।-रासस