• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने



गण्डकी । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ ।

सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ ।

भूमिको उत्पादनशीलता अभिवृद्धि गर्न जग्गाको वर्गीकरण, चक्लाबन्दी, यान्त्रिकीकरण, व्यवसायीकरणमा जोड दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उत्पादनको दिगोपना र निरन्तरताको लागि उत्पादनसँग अनुदानको आबद्धता कायम गर्दै लगिने भनिएको छ ।

‘एक निर्वाचन क्षेत्र९एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’को अवधारणा विकास गरी आवश्यक पूर्वाधारसहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ । प्रदेशस्थित अनुसन्धानका निकायसँगको समन्वयमा कृषि क्षेत्रको टड्कारो समस्याका रूपमा रहेका विषयमा कार्यात्मक अनुसन्धान गरी समाधानका उपाय पहिचान तथा प्रसार गरिने जनाइएको छ ।

स्थानीयस्तरमा कृषि उपज उत्पादन गरी चिस्यान केन्द्रमा भण्डारण गर्ने किसानलाई निश्चित मापदण्डका आधारमा भण्डारण शुल्कमा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा उत्पादित कृषि उपजको बेचविखनमा संलग्न व्यवसायीलाई प्रोत्साहन गरिने भन्दै सरकारले उत्पादित कृषि उपजको बजारीकरण तथा ढुवानी व्यवस्थापनका लागि स्थानीय तहसँग आवश्यक समन्वय गर्ने नीति लिइने जनाएको छ । रासस