• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

ए डिभिजन लिग: दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट



नवप्रवेशी टोली चर्च ब्वाईज

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग २०७९ सम्पन्न भएको छ । डबल लिगको आधारमा भएको प्रतियोगितामा कुल १८२ खेल सम्पन्न हुँदा नवप्रवेशी टोली चर्च ब्वाईजले उपाधि उचाल्न सफल भयो ।

प्रतियोगिताको उपाधि पहिलो पटक ए डिभिजन लिग खेलेको चर्च ब्वाइजले कब्जा गरेको छ । यसै सिजन बढुवा भएको चर्च ब्वाईजले एक खेल अगावै साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको हो ।

चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन बन्यो । पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाईज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ । यसअघि मनाङ मस्र्याङ्दी फुटबल क्लवले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसिटी)ले ६ पटक लिगको उपाधि उचालेको छ ।

साथै चर्च ब्वाईज मनाङ मस्र्याङ्दी पछि लगातार ए, बी र सी डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ । २०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा सी च्याम्पियन, २०७९ मा बी च्याम्पिन हुँदा शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा सी च्याम्पियन हुँदै बी डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै बी च्याम्पियन र २०४३ मा ए डिभिजन लिगको च्याम्पिन भएको थियो ।

१४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाईजले २५औं चरण सम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ । यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ए डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रुपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रुपमा उपाधि दिलाउन सफल भएका हुन् ।

यसैगरी विभागीय क्लव एपीएफ र एफसी खुमलटार बी डिभिजनमा घटुवा भएका छन् । यस पटक ए डिभिजन लिगका खेलहरु ३ वटा मैदानमा आयोजना गरिए । एन्फा मैदान सातदोबाटो, च्यासल मैदान र त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आयोजना गरिएको थियो ।

ए डिभिजन लिगमा चर्च ब्वाइजले २६ खेल खेल्दा सर्वाधिक १३ खेलमा जित निकाल्न सफल भयो । चर्च ब्वाइजले प्रतियोगिताभर ३५ गोल गर्दा १५ गोल व्यहोर्न पुग्यो । उपाधि विजेता चर्च ब्वाइजले ७५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी गत संस्करणको उपाधि जितेको मच्छिन्द्र क्लव यस सिजन उपाधि जोगाउन असफल रह्यो । तर, दोस्रो स्थानमा रहन सफल भयो । मच्छिन्द्र ४५ अंकका साथ दोस्रो स्थानमा रहँदा २६ खेलमा १२ मा जित ९ मा बराबरी र ५ खेलमा हार भोग्न बाध्य भयो । मच्छिन्द्रले सर्वाधिक ४१ गोल गर्दा २६ गोल खायो । मच्छिन्द्रले ५० लाखको चेक प्राप्त गरेको छ ।

यस्तै, विभागीय क्लव नेपाल पुलिस तेस्रो स्थानमा रहेर लिगको समापन गर्‍यो । पुलिसले ४१ अंक जोड्दा १२ खेलमा जित र ५ खेलमा बराबरी गरेको थियो । पुलिसले प्रतियोगिताभर ९ खेलमा हार भोग्यो । पुलिसले २९ गोल गर्दा ३० गोल सुम्पियो । तेस्रो भएको पुलिसले २५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी पुलिसले फेयर प्ले टिमको उपाधि पनि जितेको छ । पुलिसले थप ३ लाखको चेक पनि प्राप्त गरेको छ ।
यस्तै शुरुमा ए डिभिजन लिगको उपाधि दाबेदार मानिएको जावलाखेल युथ क्लव दोस्रो चरणमा लय गुमाउन पुग्दा अन्त्यमा चौथो स्थानमा पुग्यो । जवलाखेलले १० खेलमा जित ७ खेलमा बराबरी गर्दा ९ खेल गुमायो । ३७ अंक बनाएको जावालखेलले प्रतियोगिताभर ३९ गोल गर्दा ३३ गोल खान पुग्यो ।

यस्तै, सातदोबाटो युथ क्लव पाँचौं स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । सातदोबाटोले १० खेलमा जित निकाल्दा ५ खेलमा बराबरी गरेको थियो । यसैगरी ११ खेलमा पराजित भयो । सातदोबाटोले २८ गोल गर्दा २८ गोल नै खान पुगे । सातदोबाटोले ३५ अंक जोडेको थियो ।
यस्तै, न्युरोड टिम एनआरटी छैटौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्‍यो । एनआरटीले ८ खेलमा जित निकाल्दा १० खेलमा बराबरी खेल्यो । एनआरटीले सिजभर ३३ गोल गर्दा ३७ गोल खान पुगेको थियो । सातौं स्थानमा विभागीय क्लव त्रिभुवन आर्मी रह्यो । ८ खेलमा जित निकालेको आर्मीले १० खेलमा बराबरी गर्दा ८ खेलमा अंक गुमाएको थियो । आर्मी ३४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको हो । आर्मीले सिजभर ३० गोल गर्दा २९ गोल व्यहोर्यो ।

यसैगरी मनाङ मस्र्याङ्दी क्लब आठौं स्थानम रहेर यो सिजनको अन्त्य गरेको छ । मनाङले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी गरेको थियो भने ८ खेलमा पराजित भयो । मनाङले २५ गोल गर्दा २९ गोल खायो । नवौं स्थानमा थ्रीस्टार क्लव आएको छ । अन्तिम खेलअघि रेलिगेशन पर्ने त्रासमा रहेको थ्रीस्टारले अन्तिम खेलमा जावलाखेलाई पराजित गर्दै ए डिभिजन लिगमै आफूलाई राख्न सफल भयो । थ्रीस्टारले प्रतियोगिताभर ३२ अंक बनायो । थ्रीस्टारले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ८ खेल गुमायो । प्रतियोगिताभर सर्वाधिक कम गोल गरेको टिमको रुपमा थ्रीस्टार रह्यो । थ्रीस्टारले १८ गोल गर्दा १८ गोल नै खान पुगेको छ ।

यसैगरी दशौं स्थानमा संकटा क्लव रह्यो । संकटाले ७ खेलमा जित १० खेलमा बराबरी र ९ खेलमा पराजय भोग्न पुग्यो । संकटाको ३१ अंक रहेको थियो । संकटाले प्रतियोगिताभर २७ गोल गर्दा ३० गोल आत्मसात गर्‍यो । हिमालयन शेर्पा क्लव भने ११ औं स्थानमा रह्यो । शेर्पाले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ९ खेलमा पराजय भयो । शेर्पाले २८ गोल गर्दा ३५ गोल व्यहोरेको थियो । शेर्पाको ३१ अंक रह्यो ।
१२ औं स्थानमा रहने टिम हो फ्रेण्ड्स क्लव । फ्रेण्ड्स ३० अंकसहित रेलिगेसनबाट जोगिन सफल रह्यो । फ्रेण्ड्सले ७ खेलमा जित निकाल्दा ९ खेल बराबरी गरेको थियो भने १० खेलमा पराजय भयो । फ्रेण्ड्सले ४२ गोल गर्दा ३७ गोल खायो ।

यसैगरी यो सिजन एपीएफ तेह्रौं स्थानमा रहँदै रेलिगेशनमा पर्ने टिम विभागीय क्लव एपीएफ बन्यो । २६ खेलमा ८ खेल जित्दा ६ खेल बराबरी र १२ खेलमा पराजित भयो । २९ गोल गर्दा ३६ गोल खान पुग्यो । एपीएफ र फ्रेण्ड्सको समान ३० अंक रहे पनि गोल अन्तरका आधारमा एपीएफ रेलिगेशन भएर बी डिभिजनमा घटुवा भयो ।

प्रतियोगितामा चर्च ब्वाईजका गोलकिपर प्रिसो उत्कृष्ट गोलकिपर चुनिएर २ लाख हात पारे भने थ्री स्टारका लकेन लिम्बूले उदीयमान युवा खेलाडी बन्दै १ लाख ५० हजार हात पारे, चर्च ब्वाईजका अनन्त तामाङ मस्ट भ्यालुएवेल खेलाडी बन्दै ३ लाख हात पारे, सर्वाधिक गोलकर्ताको आफिज ओलावालेले सर्वाधिक गोल कर्ता बन्दै २ लाख पुरस्कार हात पारे ।

यसैगरी, पहिलो सिजन ए डिभिजन लिग खेलेको एफसी खुमलटार पुन: बी डिभिजनमा घटुवा भएको छ । यसै सिजन ए डिभिजन खेलेको चर्च ब्वाइजले लिग जित्ने इतिहास बनाउँदा खुमलाटार भने अभागी सावित भयो । खुमलटारले ८ खेलमा जित निकाल्दा ३ खेलमात्रै बराबरी खेल्यो । १५ खेल गुमाएको खुमलटारले सिजनभर ३४ गोल गर्दा ५४ गोल व्यहोर्‍यो । प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेपका उपाध्यक्ष शिव कोईराला, सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनाराम श्रेष्ठ लगाएतले पुरस्कार वितरण गरेका थिए ।