• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू



गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा आजदेखि सुरु भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा सुरु महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत अन्तिम दिन जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस ९जुन ३० का अवसरमा अन्नपूर्ण म्याराथन हुनेछ । उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को म्याराथन आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ । महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बाँस्केटबल प्रतियोगिता, पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

म्याराथनतर्फ प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु ७५हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै गाउँपालिकास्तरीय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बाँस्केटबलतर्फका विजेताले नगद रु ८० हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिइएको हो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो ।

प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटकबाट कार्यक्रमलाई निरन्तरता दिइएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताउनुभयो ।

पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी रहेको उल्लेख गर्दै उहाँले यसका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा अहिलेसम्म भएका प्रगतिमा निजी क्षेत्रको विशिष्ट योगदान रहेको बताउँदै उहाँले लगानीमैत्री वातावरण सिर्जना गरी निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिका पूर्वअध्यक्ष किसम गुरुङलगायतले महोत्सवले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवलाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, अन्नपूर्ण काठमाडौँ समाज नेपाल, गुरु आनन्द फाउन्डेशनलगायतका सङ्घ संस्थाको सहयोग रहेको छ । रासस